जिल्लाको सीमा क्षेत्रमा आवत–जावतमा कडाई
भद्रपुर । झापाको भारतसंग सीमा जोडिएको पूर्वीनाका काँकरभिट्टामा होल्डिङ सेन्टर स्थापना भएसंगै भारतबाट नेपाल आउने नागरिकलाई व्यवस्थित रुपमा घर पुयरउन सहज भएको छ । सीमानाकाबाट नेपाल भित्रिने यात्रुलाई पिसिआर रिपोर्ट र दुवै डोज खोप लगाएका बाहेक अन्य सबैको अनिवार्य स्वास्थ्य परीक्षण गर्नुका साथै एन्टिजेन परीक्षण गर्ने गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिएका छन् ।
भारतसंग १४४ किलोमिटर खुल्ला सीमानाका रहेको झापा जिल्लाको सीमा क्षेत्रमा आवत–जावतमा कडाई भएको जानकारी दिंदै प्रजिअ तिमिल्सिनाले भने–‘सीमानामा टाइट छ, मुख्य नाका काँकरभिट्टाबाट आउने नेपालीको स्वास्थ्य परीक्षण गराएर स्थानीय पालिका वा अन्तर जिल्लामा जानेलाई समन्वय गरेर पठाउने गरेका छौं ।’
नेपाल र भारतका सीमानाकाहरुमा खेतिपातीको साइनो जोडिएकोले खेती गर्न आउनेहरुको पनि समस्या नभएको उनले बताए । खुल्ला सीमानाका कारण निर्वाध रुपमा भारतीयहरु खेति गर्न नेपाल आउछन् भनिए पनि भने जस्तो समस्या नरहेको बताउँदै प्रजिअ तिमिल्सिनाले भने–‘त्यस्तो समस्या छैन, ठाउँ–ठाउँमा सुरक्षा फोर्स छ, सुरक्षा निकायसंग समन्वय हुन्छ ।’
भारतको पश्चिम बंगाल र विहारसंग सीमाना जोडिएको झापाको सीमा क्षेत्रमा जनपद र सशस्त्र प्रहरीका ५६ वटा सुरक्षा बुथमा लगभग ८ सय सुरक्षाकर्मी परिचालित भएको बताइएको छ ।