भद्रपुर नगरपालिकामा पनि आजबाट पूर्ण निषेधाज्ञा
भद्रपुर । झापाको सदरमुकाम समेत रहेको भद्रपुर नगरपालिकाले शनिवार (आज) मध्य रातिबाट नगर क्षेत्रमा अत्यावश्यक बाहेकका सवै सेवा बन्द गर्ने निर्णय सार्वजनिक गरेको छ ।
जिल्ला कोभिड १९ व्यवस्थापन समिति झापाको साउन १४ गतेको निर्णय अनुसार भद्रपुर नगर प्रशासनले नगर क्षेत्रमा अत्यावश्यक बाहेका सवै सेवाहरू साउन २३ गते मध्यरातिसम्मका लागि स्थगन गरेको हो ।
नगरपालिकाले जारी गरेको सूचना अनुसार नगर भित्रका सवै वडा कार्यालयले दिने अत्यावश्यक बाहेका सवै सेवा पूर्ण रूपमा बन्द रहने छन् भने विभिन्न शाखा र मातहतका निकायका सेवा पनि साउन २३ गतेसम्मका लागि बन्द गरिएका हुन् ।
झापामा कोभिड १९ (कोरोना भाइरस) संक्रमणका विरामीको संख्याले उच्च गति लिएको ठहर गर्दै एक हप्ताका लागि साउन १६ गते मध्यरातिबाट २३ गतेसम्मका लागि जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण निषेध आज्ञा जारी गरिसकेकोको छ ।
दोस्रो लहर अन्र्तगत झापा भित्र समुदाय स्तरमा कोरोना संक्रमण पुनः तीव्र गतिमा फैलिन थालेपछि नियन्त्रणको प्रयास स्वरूप जिल्ला कोभिड नियन्त्रण तथा व्यवस्थापन समितिको सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय झापाले आज (साउन १६ गते शनिवार) मध्यरातबाट लागु हुने गरी पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको हो ।
शनिवार मध्यरातिदेखि साउन २३ गते मध्यरातिसम्म निषेधाज्ञा लागू हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा विहिवार जारी आदेशमा उल्लेख छ । निषेधाज्ञाको समयमा कुनै पनि व्यक्तिलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आदेश दिइएको छ भने अत्यावश्यक सेवा बाहेकका सबै यातायात र व्यापार व्यवसाय समेत बन्द गरिएको छ । यसअघि खुकुलो निषेधाज्ञा कायम थियो ।
कोरोना संक्रमणको दर उच्च गतिमा बढेपछि जिल्ला कोभिड १९ व्यवस्थापन समितिको सिफारिसमा प्रजिअ तिमिल्सिनाले पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको जनाएका छन् ।
विश्वभर फैलदै गईरहेको नयाँ भेरियन्टको कोभिड–१९ महामारी नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरूमा झापा जिल्लामा समेत संक्रमण तीब्ररुपमा बढिरहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्बांट प्रत्यायोजित अधिकार बमोजिम संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले प्रमुख जिल्ला अधिकारीलाई दिएको अधिकार प्रयोग गरी झापा जिल्लाभर लागू हुने गरी निषेधाज्ञाको आदेश जारी गरिएको जनाइएको छ ।