कोरोना बिरुद्घको खोप कार्यमा अनियमतता र भ्रष्टचारको आरोप
झापा । झापामा ५५ बर्ष माथिका ब्यक्तिलाई लगाईने कोरोना बिरुद्घको खोप कार्य अनियमतात भएको आरोप लागेको छ । झापाका १५ पालिका मध्ये बिषेशगरी भद्रपुर नगरपालिका र बिर्तामोड नगरपालिकामा घटेका काण्ड सार्वजनिक भएका छन् ।
झापा सदरमुकाम समेत रहेको भद्रपुर नगर क्षेत्रका अधिकाम्स खोप केन्द्रमा बेथिति देखिएको आरोप छ । हरेक खोप केन्द्रमा राजनीतिक पहुँच, नातावाद कृपावाद तथा जनप्रतिनिधिको आफूखुसी तजविजले खोप लगाउने कार्यले बेथिति देखिएको हो । खोप अभियानमा नगर प्रमुख, उपप्रमुखदेखि वडाध्यक्ष, वडासदस्यसम्मका जनप्रतिनिधिले आफन्त, नजिकका कार्यकर्ता र आसेपासे रिझाउने क्रममा प्रतिष्पर्धा गर्दा तोकिएको मापदण्ड मिचेर कम उमेर समूहका नागरिकलाई समेत खोप लगाएको भन्दै भद्रपुरमा व्यापक जन गुनासो तथा आलोचना भइरहेको छ ।
यसै क्रममा, खोप कार्यमा बेथिति र भ्रष्टचार भएको आरोपमा बिर्तामोड नगरपालिकाको कार्यालयमा शनिवार बिहान विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । होटेलमा खोप लुकाएको आरोपमा पक्राउ परेका नगरपालिकाका कोभिड पर्सन ओमबहादुर खड्कालाई प्रहरीले शुक्रवार बेलुका नियन्त्रणमा लिएको थियो । खड्कालाई प्रहरीले बिनाकारबाही राति नै छाडिदिएको विरोधमा स्थानीय सरोकारवाला, नेपाल विद्यार्थी संघ झापा र अखिल क्रान्तिकारी झापाले नगरपालिका कार्यालयमा संयुक्त रुपमा तालाबन्दी गरेका हुन् । खडकालाई कारबाहीको माग गर्दै तालाबन्दी गरेपछि नगरपालिका परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसैगरी, विर्तामोड नगरपालिकाको खोप अनियमितता सम्बन्धी घटनाका दोषीलाई तत्काल सेवाबाट निलम्बन गरेर आवश्यक अनुसन्धान गरी घटनाको अध्ययन अनुसन्धान र कारबाही गर्न झापाका पाँच राजनीतिक दलले माग गरेका छन् । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा, नेकपा माओवादी केन्द्रका सचिव मणिकुमार राई, जनता समाजवादी पार्टी नेपालका झापा अध्यक्ष, दिपेनबाला राई, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष केशव ओझा, राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष सन्तोषकुमार राईले संयुक्त प्रेस विज्ञप्तिमा सर्वसाधारणले खोप लगाउन नपाउने तर होटलमा लुकाएर राखेको उक्त निन्दनीय ,अमानबीय र अक्षम्य घटनाप्रति खेद व्यक्त गर्दै कारबाहीको माग गरिएको हो घटनाको सत्यतथ्य बाहिर नआएसम्म स्वास्थ्य कार्यालय झापाका प्रमुख र बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाको कोरोना फोकल पर्सन एवं खोप काण्डमा संलग्न आरोपीलाइ निलम्बन गर्न समेत विज्ञप्तिमार्फत जोडदार माग गरिएको छ ।
साथै,मानव अधिकार सञ्जाल झापाले प्रेस विज्ञप्ति जारी गर्दै नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारीबाटै खोप अनियमित गरिएको र होटेलमा लुकाइराखेको अवस्थामा खोप बरामद हुनु घटना लज्जास्पद र निन्दनीय भएको टिप्पणी गरेको छ ।
यसै सन्दर्भमा, विर्तामोड नगरपालिकाको खोप काण्ड छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा शनिबार बसेको जिल्ला कोभिड खोप व्यवस्थापन समितिको बैठकले बिर्तामोडको खोप काण्ड ७ दिनभित्र छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न समय दिएको छ ।
छानबिन समितिमा जिल्ला समन्वय समिति अधिकारी लालबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापा, सशस्त्र प्रहरी बल २ नम्बर गणका डीएसपी प्रेम प्रसाई र राष्ट्रिय अनुसन्धान झापाका अनुसन्धान अधिकृत किरण भट्टराई छन् । बैठकले बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्कालाई छानबिन प्रतिवेदन सार्वजनिक नहुँदासम्मको लागि खोप सम्बन्धि कुनै गतिविधिमा संलग्न नगराउन बिर्तामोड नगरपालिकालाई अनुरोध गरेको छ ।
बैठकले जिल्लामा खोप लगाएको तथा खोप सम्बन्धि सम्पूर्ण विवरण सार्वजनिक गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ । बैठकले झापाका पेट्रोल पम्पहरुमा काम गर्ने तीनसय जना मजदुरलाई चारआलीस्थित आयल निगमको डिपोमा कोभिड विरुद्धको खोप लगाउने व्यवस्था गर्न निर्देशन दिएको छ ।