भद्रपुर नगर प्रशासनद्वारा अधिकार क्षेत्रबाहिर गरिएको निर्णय फिर्ता
भद्रपुर । भद्रपुर नगरपालिका क्षेत्रमा कोरोना भाइरस बिरूद्ध लगाइने खोप केन्द्र बढाइनु पर्ने माग आइरहेको बेला अधिकार क्षेत्र बाहिर गएर नगरपालिका प्रशासनले खोप केन्द्र घटाएको भन्दै नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।
नगर प्रशासनले अधिकार क्षेत्र मिचेर मेची प्रादेशिक अस्पतालको मातहतमा रहेको नगरपालिकाको सवैभन्दा पुरानो खोप केन्द्र स्थगन गरेको भन्दै काँग्रेसले आपत्ति जनाएको हो ।
काँग्रेस झापा क्षेत्र नम्बर ३ का सभापति गणेश पोखरेलले नगर प्रमुखको अदुरदर्शी सोचको परिणाम अधिकार क्षेत्र बाहिर गएर खोप केन्द्र स्थगन गरिएकोले भद्रपुरबासी बिरोधमा उत्रनु परेको हो ।
यसै बीच मेची अस्पतालको मातहतमा रहेको खोप केन्द्र स्थगनको भद्रपुर नगर प्रशासनको निर्णयमा चौतर्फी विरोध आएपछि फिर्ता भएको छ । विहिवारबाट स्थगन भएको भनिएको सो खोपकेन्द्रबाट खोप दिने व्यवस्था नभए कडा प्रतिकार गर्ने काँग्रेसको चेतावनीपछि नगर प्रशासनले आफ्नो निर्णय फिर्ता लिएर खोप कार्यक्रम सुचारू भएको हो ।
झापा सदरमुकाम समेत रहेको भद्रपुर नगर क्षेत्रका अधिकाम्स खोप केन्द्रमा पनि बेथिति देखिएको छ । हरेक खोप केन्द्रमा राजनीतिक पहुँच, नातावाद कृपावाद तथा जनप्रतिनिधिको आफूखुसी तजविजले खोप लगाउने कार्यले बेथिति देखिएको हो ।
नगर भित्रका अधिकाम्स वडामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र राजनीतिक दलको पहुँचका आधारमा तोकिएको मापदण्ड विपरित कम उमेर समूहका नागरिकलाई खोप लगाइएको जनगुनासो आएको छ । खोप अभियानमा नगर प्रमुख, उपप्रमुखदेखि वडाध्यक्ष, वडासदस्यसम्मका जनप्रतिनिधिले आफन्त, नजिकका कार्यकर्ता र आसेपासे रिझाउने क्रममा प्रतिष्पर्धा गर्दा तोकिएको मापदण्ड मिचेर कम उमेर समूहका नागरिकलाई खोप लगाएको भन्दै भद्रपुरमा व्यापक आलोचना भइरहेको छ ।
त्यस्तै नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईका अनुसार नगरपालिकालाई स्वास्थ्य कार्यालय झापाले ५५ वर्षमाथिका उमेर संख्या तोकेर ६ हजार १ सय ४३ भेरोसेल खोप पठाएको थियो तर सूचना जारी गर्दा सरकारी कर्मचारी, बैंक र वित्तीय संस्था कर्मचारी, चालक, सुरक्षाकर्मी, फ्रन्टलाइनमा काम गर्ने, भन्सार एजेन्ट, निर्माण व्यवसायी, विदेश जाने भिसा भएका नागरिक र वाणिज्य संघ प्रतिनिधिहरूले समेत खोप लगाएका छन् । लक्षित समूहलाई आएकै खोपबाट परिचयपत्रको आधारमा अन्यत्रलाई पनि खोप लगाइएको भट्टराइको भनाइ छ ।