चोरी गरेको आरोपमा एक युवक पक्राउ
भद्रपुर । कोरोना कहरकाबीच भद्रपुरमा चोरको बिगबिगी बढेको पाइएको छ । नगर क्षेत्र भित्र चोरीका घटना बढेसँगै सुरक्षाकर्मीलाई चुनौती थपिएको छ । यसै क्रममा सशस्त्र प्रहरीको सहकार्यमा वडा प्रहरी कार्यालय भद्रपुरले चोरी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत किशनगञ्ज जिल्ला गलगलियाका, हाल भद्रपुर( ६ मा डेरा गरी बस्ने २१ वर्षीय अजय पासवान रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
पासवानले भद्रपुर–५ स्थित सूर्य पलाई उद्योगमा कामदारको मोबाइल फोन र नगद चोरी गरेका थिए । सामान चोरेर भारततर्फ भाग्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भद्रपुरबाट खटिएका सशस्त्र प्रहरीले उनलाई बुधवार बिहान २ बजे मेची पुल उत्तरबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट लागु औषध ब्राउन सुगर २१० मिलिग्राम र १० ग्राम गाँजा समेत बरामद गरेको छ । साथै दुई थान मोबाइल फोन, १२५० भारतीय रुपैयाँ, १५१० नेपाली रुपैयाँ, दुई थान भारतीय आधार कार्ड, एउटा भारतीय मतदाता परिचयपत्र र दुई वटा पर्स फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्तलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाईको जनाइएको छ ।