उपप्राध्यापक झाको मोटरसाइकल दुर्घटनामा मृत्यु
भद्रपुर । मेची बहुमुखी क्याम्पस भद्रपुरका उपप्राध्यापक ताराकान्त झाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । भद्रपुर नगरपालिका–८, किरात कोलोनीस्थित भित्री सडक खण्डमा बुधबार राति साढे ११ बजेको समयमा भद्रपुरबाट चन्द्रगढीतर्फ जाँदै गरेको मे २ प २५२५ नम्बरको झा चढेको मोटरसाइकलले सडकमा रोकी ना ३ ख ८५४२ नम्बरको ट्रकमा सामान लोड गर्दै गरेका चालक बुद्धशान्ति गाउँपालिका–१ स्थित होक्सेका ३५ वर्षीय कमल ढुंगेललाई ठक्कर दिएका थिए ।
दुर्घटनामा परी मोटरसाइकल चालक झाको टाउकोमा गम्भीर चोट लागेको र ट्रक चालक ढुंगेललाई टाउको र खुट्टामा चोट लागेपछि दुवै जनालाई उपचारका लागि ओमसाई पाथीभरा हस्पिटल पठाइएकामा त्यहाँ उपचार सम्भव नभएपछि झालाई थप उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाइएका प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । उनको उपचारको क्रममा सोही अस्पतालमा विहीबार विहान २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक ढुंगेलको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।
भद्रपुरका ५० वर्षीय झा मेची बहुमुखी क्याम्पसका रसायन शास्त्र विभागका उपप्राध्यापक हुन् ।