हरिणको शिकार गरेको अभियोगमा दुई व्यक्ति पक्राउ
भद्रपुर । जंगली हरिणको शिकार गरेको अभियोगमा दक्षिण झापाको कचनकवल–३ का दुई व्यक्ति पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले मारिएको हरिणको छालासहित पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरु ४० वर्षिय लुखिराम हस्दा र २४ बर्षीय समन टुडु रहेका छन् ।
स्थानीय अभिमुक्तेश्वर सामुदायिक वनमा ८ जनाले मिलेर हरिण मारेर खाएको जानकारी पाएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो । खोजतलासकै क्रममा हरिणको छाला घरमा सुकाइरहेको फेला पारेपछि पथरिया प्रहरी चौकीको टोलीले हस्दा र टुडुलाई पक्रेको थियो ।
शिकारमा संलग्न हाल फरार रहेका अन्य ६ जनाको खोजी भइरहेको प्रहरीको भनाई छ । पक्राउ परेका दुबैले अभियोग स्वीकारेको प्रहरीका जिल्ला प्रवक्ता राकेश थापाले जानकारी दिए ।