आनी छोइङ डोल्मा फाउण्डेशनद्वारा स्वास्थ्य सामग्रीप्रदान

बिर्तामोड । झापाका दुई नगरपालिकालाई आनी छोइङ डोल्मा फाउण्डेशनले ५० लाख मुल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । फाउण्डेशनले आज विहान बिर्तामोड र अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

पूर्व मन्त्री एवम् नेकपा एमालेका नेता अग्नी खरेलको पहलमा उक्त सामग्री झापाका दुई नगरलाई हस्तान्तरण गरिएको फाउण्डेशनले जनाएको छ । सो फाउण्डेशन, प्रारम्भ सामाजिक संस्था र सिङ्गापुर रेडक्रसले दुई नगरलाई १–१ थान भेन्टिलेटर, २–२ थान अक्सिजन कन्सनट्रेटर र पीपीई उपलब्ध गराएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको आनी छोइङ डोल्माले बताइन् । उनले जीवनमा सेवा नै सर्वोत्तम कार्य भएको बताईन् । देशका विभिन्न जिल्लामा फाउण्डेशनले स्वास्थ्य सामग्री सहयोग गर्दै आएको जनाएको छ ।

स्वास्थ्य सामग्री ग्रहण गर्दै बिर्तामोड नगरका प्रमुख धु्रबकुमार शिवाकाटी र अर्जुनधाराका नगर प्रमुख हरिकुमार रानाले फाउण्डेशनलाई धन्यावाद दिएका छन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले झापामा सम्झिएर स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा आभार व्यक्त गर्दै जिल्लाको अवस्था बारे जानकारी दिएका थिए ।