ने.का. क्षेत्र नं–३, प्रदेश खद्वारा राहत बितरण
विर्तामोड । कोरोना कहरका कारण लम्बिएको लकडाउनले जनजीवन आक्रान्त बन्दै गएको छ । तीनहप्ता अघिदेखिको बन्दले सर्वसाधारणको चुलो बल्न छाडेको छ । दोस्रो चरणको कोरोना भाइरस २०७८ बैशाखबाट फैलन शुरु गरेपछि संक्रमणको साङलो चुडाउने नाममा लम्बिदै गएको लकडाउनबाट जनता दिनप्रतिदिन प्रभावित हुँदै गएका छन् ।
एकातिर रोजगारी गुमेको, मजदुरी गर्न नपाएको अवस्था छ भने लकडाउनकै बीच भइरहेको बन्द ब्यापारमा बढेको मूल्यबृद्धिको मार खेप्न जनतालाई धौ धौ परेको छ । तर, ब्यापारी–ब्यवसायीले सटर नखोलेपनि चिनजानका आधारमा पछाडिबाट ब्यापार गरिरहेकै छन् । तर हरेक उपभोग्य बस्तुको मूल्य अधिकतम ४० प्रतिशतसम्म बढेको छ । यसले अति विपन्न तथा गरिव तथा मध्यमबर्गीय परिवार समेत समस्यामा छन् ।
जनताका समस्यामा मल्हम पट्टी बनेर पुग्ने प्रयास स्वरुप नेपाली कांग्रेस झापा क्षेत्र नं ३ अन्तरगत प्रदेश ख समिति र स्थानीय वडा तथा गाउँरनगर समितिको पहल र समन्वयमा विर्तामोड नगरपालिका–१० विराटपोखरका १२ घरपरिवारलाई राहतस्वरुप दैनिक उपभोग्य सामग्री वितरण गरिएको छ ।
ने.का. क्षेत्र नं–३, प्रदेश ख का सभापति नवीन विमलीको सक्रियतामा नेपाली काङ्ग्रेस बिर्तामोड नगरपालिका वडा नं.१० ले स्थानीय मुसहर बस्तीमा राहत वितरण गरेको हो । ‘संकटको घडीमा चुलो निभ्न नदिने प्रयास थालेका हौं’–सभापति विमलीले भने–‘नेपाली कांग्रेसले विपतमा परेका जनताको सेवाका लागि महाविपत सहयोग समिति गठन गरेर सहयोग वितरण जारी राखेका छौं , अति विपन्न परिवारलाई प्राथमिकताका आधारमा राहत वितरण गरिएको हो ।’ सभापति विमलीको अगुवाईमा नेपाली कांग्रेस महाविपत सहयोग समिति विर्तामोड–१० ले मुसहर बस्तीका १२ घरपरिवारलाई चामल, दाल, नून, तेल, साबुन, माक्सलगायतका सामग्री वितरण गरिएको नेपाली कांग्रेस झापाका सल्लाहकार भुपाल बस्नेतले जानकारी दिए ।
यसैगरी कोरोना भाइरसको त्रासका कारण सामान्य तथा जटिल प्रकृतिका विरामीहरु अस्पतालसम्म जाने वातावरण छैन तर पनि संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्दै जाँदा सभापति बिमलीकै सक्रियतामा हल्दिबारी वडा नं १ का २४ जना कोरोना संक्रमितको स्वास्थ्य परिक्षण गरिएको छ ।
सैनिकमोडस्थित नवज्योती फार्मेसीको सहयोग र विर्ता सिटी अस्पतालका चिकित्सक सुदिप भटराईको नेतृत्वमा रहेको चिकित्सकहरुको टोलीले २४ जनाको स्वास्थ्य परिक्षण गर्दा २ जनाको स्वास्थ्य अवस्था गम्भीर देखिएकोले अस्पताल रेफर गरिएको नेपाली कांग्रेस हल्दिबारी–१ का सभापति निराजन दाहालले जानकारी दिए । प्रदेश क्षेत्रीय सभापति विमली, विर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङ, सल्लाहकार बस्नेत, वडा सभापति दाहालसहित स्थानीय नेता–कार्यकर्ताको सहभागिता रहेको स्वास्थ्य परिक्षणका क्रममा विरामीहरुलाई कोरोना परास्त गर्न अपनाउनुपर्ने स्वास्थ्य सावधानी र औषधि सेवनबारे परामर्श सेवा समेत दिइएको थियो ।