संकटमा परेका गन्धर्व समुदाले राहत पाए

भद्रपुर । निषेधाज्ञाका कारण आफ्नो पेशाबाट नन्चित रहनु पर्दा संकटमा परेका गन्धर्व समुदामा राहत पाएपछि वस्तीमा खुशीयाली छाएको छ । दक्षिण झापाको कचनकबलमा बसोबास गर्दै आएका अल्पसङ्ख्यक गन्धर्व समुदायको वस्तीमा खाद्य सङ्कट भएकोले राहत सहयोग जुटेको हो । केही अवधिका लागि उनीहरुको सङ्कट अब टरेको छ ।

कचनकबल गाउँपालिका वडा नं. २ को सो विपन्न वस्तीमा गन्धर्व समुदायका ४६ परिवार बस्दै आएका छन् । कोभिड–१९ को महामारीका कारण निषेधाज्ञा लम्बिएपछि सो वस्तीका बासिन्दा भोकभोकै परेका थिए । काठमाडौंका केदार गान्धारीले रु. ९० हजार नगद पठाएर रासस झापा कार्यालयमार्फत वस्तीका ४६ परिवारमा एक बोरा २५ केजी चामल, मुसुरो दाल २ केजी, तोरीको खानेतेल २ लिटर, साबुन नुहाउने र लुगा धुने र टुथपेस्ट सहयोग गरेका छन् ।

राहत सामग्री पाएपछि खुशी भएकी स्थानीय धनमाया गन्धर्वले सानो परिवारका लागि दुई महिना र ठूलो परिवारका लागि कम्तीमा एक महिना पुग्ने चामल, दाल र खानेतेल सहयोग पाएको बताइन् । “बाहिर निस्कन नपाउँदा कमाउने बाटो थुनियो, घरमा भएको चामल दाल सबै सकियो,” धनमायाले भनिन्–“राहत नआएको भए गाइनेको चुलो बल्न छाडिसकेको थियो ।”

झापा सदरमुकाम भद्रपुरबाट ३० किलोमिटर दक्षिण नेपालकै होचो स्थान कचनकबलमा गन्धर्व समुदायको अलग्गै वस्ती छ । सारङ्गी रेटेर गाउँगाउँ डुल्दै गीत गाउने पेशा अँगालेका विपन्न गन्धर्वहरु कोरोना महामारीका कारण हिँडडुल बन्द भएपछि भोकभोकै बस्नु पर्ने अवस्था आएको थियो । उनीहरुको खेतीपाती र व्यापार छैन । पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाजका सचिव रबिन गन्धर्वले समुदायले कोरोना कहरमा भोग्नु परेको दुःख बुझेर राहत सामग्री ल्याइदिनु हुने सम्पूर्ण सहयोगी व्यक्ति तथा संस्थाहरुप्रति आभार व्यक्त गरेका छन् ।