कोरोना संक्रमित बोक्ने गाउँपालिका अध्यक्ष
—विवेक राई
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राई अहिले गाउँमा रहेका संक्रमितलाई आइसोलेसन पुर्याउन पिपिई लगाएर आफैं अघि सर्छन् । गाउँका मान्छेहरू पनि अप्ठेरो पर्यो कि उनै अध्यक्षलाई फोन गर्छन् ।
गत जेठ १४ गते गाउँपालिका २ डाँडागाउँस्थित होम आइसोलेसनमा रहेकी एकजना संक्रमित महिला बेहोस भइन् । लगत्तै परिवारले गाउँपालिकाको एम्बुलेन्सलाई सम्पर्क गरे । तर एम्बुलेन्स बिग्रिएकाले आउन नसक्ने भन्दै चालकले जवाफ दिए । एम्बुलेन्स नपाएपछि बिरामीका परिवार झन् अत्तालिए । त्यसपछि उनीहरूले सिधै अध्यक्ष राईलाई फोन गरेर आफ्ना समस्या सुनाए । अध्यक्ष राईले पनि एम्बुलेन्स चालकलाई फोन गरे तर चालकले एम्बुलेन्स बनिनसकेको जवाफ दिए । एम्बुलेन्स नपाउने भएपछि अध्यक्ष राईले परिवारलाई बिरामी लिन आफैं आउने भन्दै नआत्तिन सान्त्वना दिए । त्यसपछि पिपिई सेट लगाएर अध्यक्ष राई एकजना स्वास्थ्यकर्मीसहित आफूले चढ्दै आएको गाडी लिएर बिरामी लिन हुइँकिए । तर गाडी बिरामीको घरसम्मै पुग्न सक्थेन । त्यसैले उनले गाडी बाटोमै रोके अनि हिँडेरै बिरामी भएकहाँ पुगे । बिरामीको अवस्था हेर्दा जतिसक्दो चाँडो अस्पताल पुर्याउनु पर्ने देखिएपछि कसरी बाटोसम्म पुर्याउने भनेर गन्थन हुनथाल्यो । अध्यक्ष राईले यस्तो बेला अलमल गर्न नहुने भन्दै आफैंले बिरामी बोक्ने भनेर कस्सिए ।
‘बिरामी बेहोस थिइन् । जतिसक्दो चाँडो अस्पताल पुर्याउनु थियो । तर पिपिई लगाएकोमध्ये एकजना स्वास्थ्यकर्मी र म मात्र थियौं । त्यसैले आफैं बिरामीलाई बोक्छु भनेर अघि सरे’ अध्यक्ष राईले भने, ‘स्वास्थ्यकर्मी र सेनाले पिपिई लगाएरै संक्रमितको उपचार र दाहसंस्कार गरिरहेका छन् । अनि उहाँहरूलाई संक्रमण सर्दैन भनेपछि हामी जनप्रतिनिधिलाई पनि त सर्दैन होला भनेर कर्तव्य ठानेर आफैं बिरामी बोकेर अस्पताल पुर्याउने काम गरें ।’
उनले अहिलेसम्म त्यस्ता समस्या भएका चार जना संक्रमितलाई आइसोलेसन सेन्टर पुर्याएको सुनाए । बाटोका कारण गाडी संक्रमितहरूको घर(घरसम्मै नपुग्ने भन्दै अध्यक्ष राईले अहिलेसम्म सबैलाई आफूले नै बोकेर गाडीसम्म ल्याउने गरेको बताए । ‘सबै संक्रमितको घरमा गाडी पुग्दैन । त्यसैले बिरामीलाई बाटोसम्म ल्याउन कम्तिमा १५ देखि २० मिनेट बोक्नुपर्छ । अहिलेसम्म सबैलाई आफैंले बोकिरहेको छु,’ उनले भने ।
अध्यक्ष राईले त्यसरी स्वास्थ्यमा समस्या भएका संक्रमितहरूलाई गाउँपालिका वडा नम्बर १ स्थित याम्खामा बनाइएको आइसोलेसन सेन्टरमा लगिएको जनाए । याम्खामा २५ बेडको आइसोलेसन सेन्टर रहेको र अक्सिजनको सुविधा पनि भएको उल्लेख गर्दै उनले भने, ‘अहिले हाम्रोमा ९१ जना संक्रमित हुनुहुन्छ । त्यसमध्ये २५ जना आइसोलेसन सेन्टरमा छन् । बाँकी भने घरघरमा हुनुहुन्छ ।’
अध्यक्ष राईले पिपिई लगाएर बिरामी बोकेर हिँड्दा गिज्याउने मान्छेहरू पनि छन् । कति जना प्रचारका लागिमात्र गरेको भन्नेहरू पनि रहेको भन्दै उनले भने, ‘केही साथीहरूले त्यस्तो कमेन्ट गरेको पाइयो । तर जसलाई प्रचार चाहिन्छ उहाँहरूलाई यहाँ आएर बिरामी बोक्न अनुरोध गर्छु। । सहरमा जस्तो घरघर गाडी पुग्ने स्थिति हाम्रोमा छैन । त्यसैले यो प्रचारका लागि गरेको हैन, हाम्रो बाध्यता हो ’
अध्यक्ष राईले यो कामलाई जारी राख्ने भन्दै कसैलाई समस्या पर्नसाथ सिधै आफूलाई फोन गर्न अनुरोध गरेका छन् । उनले हिजो मात्र डेढ सय जनाको पिसिआर परीक्षण गर्दा एक जना महिला स्वास्थ्यका कारण आउन नसकेपछि आधा घन्टा हिँडेर ती महिलाको घरमै पुगेर परीक्षण गरिएको जनाए । यसरी जनप्रतिनिधि नै अघि नसरे महामारी नियन्त्रणमा नआउने उल्लेख गर्दै उनले भने ‘यो महामारीको बेला हो र यस्तो बेला जनप्रतिनिधिले आदेशमात्र दिएर हुँदैन । आफैं मैदानमा उत्रिनुपर्छ । जनतालाई समस्या पर्दा आदेशमात्र दिने अनि हात बाँधेर बस्ने हो भने पछि त्यो हामीलाई नै घाटा हुन्छ । त्यसैले कर्तव्य ठानेर मैदानमा उत्रेको हुँ ।’
यसरी संक्रमितलाई आफैं बोकेर अस्पताल पुर्याउने अध्यक्ष राईले आफूलाई पनि सुरक्षित राख्न जनस्वास्थ्यका मापदण्ड अपनाएका छन् । अहिले आफू परिवारसँग रहे पनि घरमा छुट्टै कोठामा बस्ने गरेको बताए । ‘छुट्टै कोठामा बसिरहेको छु । बिहान र बेलुका नुहाउँछु । मास्क, स्यानिटाइजर लगाउने कुरा र भौतिक दूरी कायम गर्ने कुरा त अनिवार्य भइहाल्यो,’ उनले भने ।—साभार सेतोपाटी