उद्योगको गेट बन्द, सयौं कामदार विच्चलीमा
गौरीगंज । गौरीगंज स्थित धिरज चामल उद्योगले कामदाहरुलाई अग्रिम जानकारी नदिई कारखाना बन्द गर्दा सयौं मजदुर विचल्लीमा परेका छन् । कम्पनी प्रशासनले हिजो सोमवार मुल गेटमा सूचना टांस गरेर कारखाना बन्द गरेपछि कारखानामा काम गर्ने सयौं कामदार विचल्लीमा परेका हुन् ।
कोरोना महामारीका कारण श्रमिकहरुको पूर्णरुपमा जिम्मा लिन नसक्ने र उद्योग परिसरमै वासस्थानको व्यवस्थापन गरी काममा लगाउन नसकिने भन्दै उद्योग बन्द गरिएको उद्योग प्रशासनले सूचनामा उल्लेख गरेको छ ।
नेपाल कारखाना श्रमिक संघ ईकाइ समिति गौरीगंजका अध्यक्ष चमरलाल यादवले जिल्ला प्रशासन झापाले स्वास्थ्य मापदण्ड अपनाएर श्रमिकहरुलाई उद्योग परिसर भित्रै क्वारेन्टाइनको व्यवस्थापन गरी उद्योग सञ्चालन गर्नु पर्ने र काम लगाउन भनेपनि त्यस्तो नगरेको बताए । उनले भने –‘ हामीसंग कुनै सल्लाह नगरी र जानकारी बिनै एक्कासी कारखाना बन्द गरेर श्रमिकहरुलाई बिच्चली पारेको छ । ’ एक्कासी कारखाना बन्द गरेर करिब १ सय ५० जना कामदारको रोजीरोटी गुमेको अध्यक्ष यादवले बताए । उनले स्वास्थ्य मापदण्ड अपनाएर र जिल्ला प्रशासनको निर्णय बमोजिम उद्योग सञ्चानमा ल्याउनु पर्ने माग गरे ।