सात प्रदेशमध्ये प्रदेश १ लाई सबैभन्दा धेरै बजेट

काठमाण्डौं । मुुलुकका सात प्रदेशमध्ये प्रदेश १ ले सबैभन्दा धेरै बजेट पाएको छ । संघीय सरकारले दिने वित्तीय समानीकरण, ससर्त, विशेष र समपूरक अनुदान गरी चार प्रकारका अनुदान प्रदेश १ ले सबैभन्दा धेरै पाएको हो । दोस्रो बढी अनुदान लुम्बिनी, तेस्रो कर्णाली प्रदेशले पाएका छन् । चौथोमा सुदूरपश्चिम, पाँचौँमा प्रदेश २, छैटौँमा बागमती र सातौँमा गण्डकी प्रदेश छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको बजेटमा संघीय सरकारबाट सात प्रदेशलाई कुल १ खर्ब ३ अर्ब ७० करोड अनुदान विनियोजन गरिएको उल्लेख छ । त्यसमध्ये प्रदेश १ ले १६ अर्ब २९ करोड ३६ लाख प्राप्त गरेको छ ।

दोस्रो धेरै बजेट लुम्बिनी प्रदेशले पाएको छ । प्रधानमन्त्री केपी ओलीनिकट नेता शंकर पोखरेल मुख्यमन्त्री रहेको तथा अर्थमन्त्री विष्णु पौडेलको गृहजिल्लासमेत रहेको लुम्बिनी प्रदेशमा १५ अर्ब ६१ करोड २५ लाख विनियोजन गरिएको छ ।

कर्णाली प्रदेशलाई १५ अर्ब ५५ करोड ६३ लाख, सुदूरपश्चिम प्रदेशमा १४ अर्ब ५८ करोड, प्रदेश २ मा १३ अर्ब ९० करोड, बागमती प्रदेशलाई १३ अर्ब ९० करोड तथा गण्डकी प्रदेशलाई १३ अर्ब दुई करोड ९७ लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रदेश १ प्रधानमन्त्री केपी ओलीको र राष्ट्रपति विद्यादेवी भण्डारीको गृहजिल्ला पर्छ । प्रधानमन्त्रीका विश्वासपात्रहरू संविधानसभाका अध्यक्ष तथा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईको गृह प्रदेश पनि यही हो । ओलीका विश्वासपात्र शेरधन राई प्रदेश १ का मुख्यमन्त्री छन् । यस्तै, ओलीका अर्का विश्वासपात्र हिक्मतकुमार कार्की प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री छन् । यस्तै, ओली नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरू भानुभक्त ढकाल, शिवमाया तुम्बाहाम्फे र वसन्त नेम्वाङ पनि प्रदेश १ कै हुन् ।