दूरगामी प्रकृतिका निर्णयहरु नलिन देउवाको खबरदारी

काठमाण्डौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको अवस्थामा दूरगामी प्रकृतिका निर्णयहरु नलिन र कार्यान्वयन नगर्न सरकारलाई खबरदारी गरेका छन् । देउवाले बिहीबार एक वक्तव्य जारी गर्दै सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन अवस्थामा रहेकाले दूरगामी निर्णय लिन नहुने बताएका हुन् ।

‘वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसिन छ । संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णयहरु लिँदैछ । सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै पनि दूरगामी प्रकृतिका निर्णयहरु नलिन र कार्यान्वयन नगर्न म सरकारलाई खबरदारी गर्दछु,’ विज्ञप्तिमा छ ।

देउवाले सरकारको नेतृत्वलाई सरकारी संयन्त्रको दुरुपयोग नगर्न र सरकारी संयन्त्रमा कार्यरतहरुलाई दुरुपयोग हुनबाट अलग रहन पनि ध्यानाकर्षण गराएका छन् । यस्तै काँग्रेसले कोरोना भाइरस नियन्त्रणका लागि मित्रराष्ट्र र संघ–संस्थाहरुबाट आएका विभिन्‍न सहयोगको दुरुपयोग र पार्टीकरण बन्द गर्न माग गरेको छ । दलका नेताहरु र मन्त्रीसमेतले विदेशबाट आएको अक्सिजन सिलिन्डर र विभिन्न स्वास्थ्य सामग्रीमा आफ्नो पोस्टर टाँसेर प्रचारबाजी गरेपछि काँग्रेसले ध्यानाकर्षण गराएको हो ।