काँग्रेस झापा ३ को ठहर कोरोना संक्रमण नियन्त्रण निषेधाज्ञाले मात्र हुँदैन

भद्रपुर । नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ ले कोरोना संक्रमण नियन्त्रण गर्न निषेधाज्ञाको विकल्प मात्र रोजिएको प्रति असहमती जनाउँदै रोग नियन्त्रणका लागि खोपको व्यवस्थापन तथा रोग संक्रमितको उचित उपचारको माग गरेको छ ।

सरकारले निषेधाज्ञा बाहेक नागरिक सुरक्षाका लागि जिम्मेवार नहुँदा संकट बढ्दै गएको भन्दै काँग्रेसले कोभिड १९ संक्रमण नियन्त्रणका लागि सरकार जिम्मेवार हुन सुरक्षाका दीर्घकालीन विकल्प अपनाउन माग गरेको हो ।

विज्ञप्ति मार्फत काँग्रेस क्षेत्रीय समितिले संघ, प्रदेश र स्थानीय सरकारका जिम्मेवार व्यक्तिहरू कोरोना कहरमा कमिसनमा लागेको प्रति कडा प्रतिवाद गर्दै सरकारी अस्पताललाई लथालिङ्ग पारेर उपचार सेवा समेत कमसल बनाइएको भन्दै निन्दा गरिएको छ ।

क्षेत्रीय सभापति गणेश पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ— कोभिड १९ संक्रमण व्यापक रुपमा विस्तार भईरहेको यो समयमा सरकारले लगभग मुलुकभर निषेधाज्ञाको आदेश जारी गरेको छ । तर, संक्रमणको साङ्लो तोड्न निषेधाज्ञा बाहेक संक्रमणको रोकथाम तथा नियन्त्रणका अन्य प्रभावकारी उपायहरूतर्फ सरकार विल्कुल उदाशीन रहेको छ । संक्रमण पुष्टि भएका व्यक्तिहरुको ट्रेसिङ गरी सम्भावित संक्रमितको टेस्टिङ गर्ने जस्ता संक्रमण नियन्त्रणका अनिवार्य उपायतर्फ तिनै तहका सरकारले खासै कुनै कार्य गरेका छैनन् । त्यति मात्र नभई लक्षणयुक्त व्यक्तिले आफैले अग्रसरता देखाई परीक्षण गर्न खोज्दा समेत अलमलिनु पर्ने विडम्वनायुक्त अवस्था विद्यमान छ । जसले गर्दा निषेधाज्ञा मात्रले वाञ्छित परिणाम दिने नभई नागरिकको जीवन अझ कष्टकर हुँदै जाने तर्फ मुलुक अभिमुख छ । नागरिकको जीवन र स्वास्थ्यमा संकट आउँदा सामान्य समय भन्दा ज्यादा संवेदनशिल भई नागरिकप्रतिको आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने सरकारी संयन्त्र तथा यसका हर्ताकर्ता भने स्वास्थ्य सामग्रीमा समेत भ्रष्टाचार गरी लुट मच्चाउन तर्फ अग्रसर छन् । संक्रमणको रोकथाम र नियन्त्रणको अचूक उपायको रूपमा रहेको संक्रमण विरुद्धको खोपको व्यवस्थापनमा सरकारले देखाएको उदाशीनता तथा यसमा समेत व्यक्तिगत कमिशनको सुनिश्चितता गर्न खोजेको विषय त अझ उदेकलाग्दो र आपत्तिजनक छ । सरकारको यस किसिमको अकर्मण्यता, निर्लज्जता, जवाफदेहीविहिनता र गैरजिम्मेवार व्यवहारप्रति हामी घोर भत्र्सना गर्दै नागरिकको जीवन तथा स्वास्थ्य जोडिएको विषयमा अधिक संवेदनशिल, जिम्मेवार तथा जवाफदेही हुन सरकारलाई सचेत गराउँदछौं ।

अधिक चाप तथा आवश्यक स्वास्थ्य पूर्वाधारको अभाव समेतका कारण कारोना संक्रमित निम्न वर्गका नागरिकहरुले सरकारी अस्पतालमा उपचार नपाउने तथा अधिक शुल्कका कारण नीजि अस्पतालमा उपचार गर्न नसकी उनीहरुले मृत्युवरण गरिरहनु परेको निर्मम तथ्यप्रति हामी तिनै तहका सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उनीहरुको उपचार सुनिश्चित गर्न जोडदार माग गर्दछौं । यसै सन्दर्भमा प्रदेश नं.१ को पूर्वी क्षेत्रको विपन्न नागरिकको स्वास्थ्य उपचारको केन्द्रको रुपमा रहेको मेची प्रादेशिक अस्पतालको दयनिय अवस्थाले हामीलाई थप चिन्तित तुल्याएको छ । संक्रमणको यस्तो विस्तार भईरहेको समयमा विगत केही दिन देखी मेची प्रादेशिक अस्पतालमा पी.सी.आर. परीक्षण हुन सकेको छैन । अलिकति जटिल स्वास्थ्य समस्या उत्पन्न हुँदा अस्पतालबाट स्वास्थ्य सेवा पाउन बाट नागरिक बञ्चित हुनु पर्ने अवस्था रहेको छ । सरकारी बेवास्ता र चरम अव्यवस्थापनको परिणामस्वरुप उत्पन्न यस्तो अवस्थामा सुधार गरी तत्काल निम्न वमोजिमको व्यवस्था गर्न हामी संघीय, प्रादेशिक, स्थानीय सरकार र अस्पताल व्यवस्थापन समितिको गम्भीर रुपमा ध्यानाकर्षण गर्दछौं ।

१) हाल रोकिएको पी.सी.आर. परीक्षण अविलम्व शुरु गरि कोरोना संक्रमणको अवधि भर निरन्तर रुपमा परीक्षण हुने व्यवस्था सुनिश्चित गरियोस् ।

२) बिरामीलाई प्राण वायु अक्सिजनको अभाव हुन नदिन अस्पतालमा अक्सिजन प्लान्टको जडान गरियोस् ।

३) आई.सि.यु. सेवाको विस्तार गरि अस्पतालमा भेन्टिलेटरको समेत व्यवस्था मिलाइयोस् ।

४) कुशल र प्रभावकारी व्यवस्थापन मार्फत नागरिकको स्वास्थ्य उपचारमा केन्द्रित रहने गरी अस्पतालमा उपलब्ध स्रोत र साधनको उच्चतम सदुपयोग गरियोस् । अस्पतालमा उपलब्ध नभएका अस्पतालजन्य अत्यावश्यक सामाग्री तथा न्यूनतम स्वास्थ्य पूर्वाधारहरुको अविलम्ब व्यवस्था गरियोस् ।

निषेधाज्ञाको यो अवधिमा रोजगार विहिन भई आय आर्जनको स्रोत गुमाउनु परि सञ्चित आम्दानी समेत नभएका विपन्न नागरिकका लागि खाधान्न, मास्क, सावुन, सेनिटाइजर जस्ता आधारभूत आवश्यकताका वस्तुको प्रवन्ध गर्न समेत यसै विज्ञप्ती मार्फत सरकारको ध्यानाकर्षण गर्दछौं । समग्र नागरिकको जीवन तथा स्वास्थ्यको रक्षा एवं विपन्न वर्गका नागरिकका लागि राहतको व्यवस्था गर्ने कार्यमा तिनै तहका सरकारबीच यथोचित समन्वय गर्न समेत जोडदार माग गर्दछौं । कुटनीतिक माध्यम, सम्वन्धित सरकारी संयन्त्र तथा आवश्यक परेमा नीजि क्षेत्रको समेत प्रभावकारी प्रयोग गरी कोभिड विरुद्धको खोपको पर्याप्त व्यवस्थाका लागि उच्च सक्रियता देखाउन समेत सरकार समक्ष जोडदार माग गर्दछौं भनिएको छ ।