बुद्वशान्तिमा अक्सिजनसहितको आइसोलेसन
झापा । झापाको बुद्वशान्ति गाउँपालिकाले श्वास फेर्न गाह्रो हुने संक्रमितलाई अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । देशभरि अक्सिजनको अभाव भईरहेको बेला बुद्वशान्ति गाउँपालिकाले १५ वटा अक्सिजन सिलिन्डरको व्यवस्थापन गरि सुविधायुक्त आईसोलेसन सेन्टर सञ्चालन ल्याएकोे हो ।
कोरोना संक्रमितको संख्या सय नाघिसकेको अवस्थामा सर्वसाधारणमा आउनसक्ने संकटलाई ध्यानमा राखेर महिला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको निर्माणाधिन भवनमा आईसोलेसन सेन्टर सञ्चालनमा ल्याईएको गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले बताए । आईसोलेसन सेन्टरमा हालसम्म कोहि विरामीलाई ल्याउनुपर्ने अवस्था नभएपनि पूर्ण तयारी अवस्थामा गाउँपालिका रहेको उनले बताए । आईसोलेसन सेन्टरमा आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापन गरेर सञ्चालनमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले बताए । १५ वेड आईसोलेसन सेन्टर तयारी अवस्थामा रहेको सन्दर्भमा विरामीको चाप बढे थप वेड सञ्चालन गर्न सक्ने गरीको व्यवस्थापन गरिएको अध्यक्ष भुजेलले जानकारी दिए ।