कचनकवलमा कोरोना परीक्षण सामग्रीको अभाव
भद्रपुर । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा कोरोना परीक्षणलगायत स्वास्थ्य सामग्रीको अभाव भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले बताएका छन् । पहिलो लहरमा कोरोना भाइरसको जिल्लाकै ‘हटस्पट’ बनेको कचनकवलमा यसपटक स्वास्थ्य सामग्रीको चरम अभाव देखिएको हो । अहिले संक्रमण रोकथाम तथा न्यूनीकरण गर्न त्यहाँका स्वास्थ्यकर्मीहरूले समस्या भोगिरहेका छन् ।
करिब दुई महिनाअघि प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय झापामार्फत गाउँपालिकाको स्वास्थ्य शाखालाई १०० थान एन्टिजेन किट उपलब्ध गराएको थियो । १०० थान एन्टिजेन किट सकिएको १५ दिन बित्न लाग्दासमेत किट नपाउँदा संक्रमित भएका व्यक्तिको परिवारजनको कोरोना परीक्षण गर्न समस्या उत्पन्न भएको स्वास्थ्य शाखाका प्रमुख जागेश्वर यादवले बताए । एन्टिजेन किट नहुँदा अहिले पालिकावासी मेची अञ्चल अस्पताल भद्रपुर धाइरहेका छन् । ‘गाउँपालिकामा एन्टिजेन किट हुँदा शंकास्पद व्यक्तिको कोरोना परीक्षण गरी दुई घण्टाभित्रै रिपोर्ट उपलब्ध गराउन सक्थ्यौँ,ु शाखा प्रमुख यादवले भने, ‘अहिले त्यो अवस्था गाउँपालिकासँग छैन, मेची अस्पताल पुगेर पीसीआर परीक्षण गर्नु परेको छ, त्यहाँको रिपोर्ट दुई;तीन दिनमा आउँछ, यसले संक्रमित पहिचानमा ढिला भइरहेको छ ।’ जिल्लामा पूर्ण निषेधाज्ञा जारी भएकोले शंकास्पद व्यक्ति पीसीआर परीक्षणका लागि स्वास्थ्य शाखाको सम्पर्कमा आउने गरेको बताउँदै उनले भने, ‘एक दिनमा ८/१० जना निरन्तर सम्पर्कमा आइरहेका छन्, एन्टिजेन किट भएको भए उनीहरूलाई अन्यत्र पठाउन पर्दैन थियो ।’
गाउँपालिकामा हालसम्म ४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । एक जना बिएण्डसी अस्पताल बिर्तामोड र दुई जना मेची कोभिड उपचार केन्द्रमा उपचाररत रहेका छ । त्यसमध्ये १० जना निको भइसकेका छन् भने ३३ जना होम आइसोलेसनमा बसेका छन् । एक जनाको मृत्यु भएको छ ।
दोस्रो लहरको संक्रमण फैलिएसँगै गाउँपालिकाले सङ्क्रमितका लागि पाठामारी स्वास्थ्य चौकीमा १६ बेडको आइसोलेसन सेन्टर स्थापना गरेको छ । त्यो आइसोलेसन सेन्टर पनि नाम मात्रको छ । न त त्यहाँ अक्सिजन सिलिन्डर छ, न त आवश्यक स्वास्थ्य सामग्री नै ! स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले भने, ‘ आइसोलेसन सेन्टरमा एउटा पनि सिलिन्डर छैन ।’ उनका अनुसार अहिले सङ्क्रमितको सङ्ख्या न्यून छ, ह्वातै बढेको अवस्थामा गाउँपालिकाले यस्तै अवस्थामा थेग्न सक्दैन ।