काँकडभिट्टाबाट भारत प्रवेशमा रोक

भद्रपुर । पश्चिम बंगाल सरकारले पूर्वी नाका काँकडभिट्टाबाट भारत प्रवेशमा रोक लगाएको छ । दुई साताका लागि पूर्ण लकडाउन घोषणा गर्दै प्रवेशमा रोक लगाएको हो । जेठ २ गतेदेखी १६ गतेसम्मलाई लकडाउन गर्दै नेपाल– भारतको नाका काँकडभिट्टाबाट भारत प्रवेशमा पूर्ण रोक लगाएको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

कोरोना संक्रमण भयावह भएपछि पश्चिम बंगाल सरकारले लकडाउनको घोषणा गरेको हो । यसअघि भारतीय नागरिक घर जान चाहेमा प्रवेश गर्न दिइदैं आएको थियो । अब, भारतीय नागरिकलाई समेत रोक लगाएको छ, प्रहरी उपरीक्षक भट्टराईले भने । आफ्नो घर जान आउन छुट दिईदै आएको काँकडभिट्टा नाकाबाट अत्यावश्यक सामग्री आयात निर्यात बाहेक पश्चिम बंगाल सरकारले पूर्ण रुपमा रोक लगाएको छ । भट्टराईका अनुसार औषधि, एलपी ग्यास, इन्धन, खाद्यन्नका लागि मात्र नाका खुला हुनेछ ।