प्राण वायुको रक्षा कसले गर्ने सरकार ?
नेपालमा दोश्रो लहरको कोरोनाको लक्षण र उपचार पद्घतिले के सिद्घ गरेको छ भने अक्सिजन संक्रमितको प्राण रक्षामा प्रमुख स्थान राख्दछ । मास्क लगाउने, सामाजिक दूरी कायम राख्ने, साबुन पानीले हात धुने, सेनिटाईजर प्रयोग गर्ने, घरमै बस्ने, निषेधाज्ञा जारी गर्नु, नाका नाकामा सुरक्षा व्यवस्था कडा गर्नृू आदि कोरोनाबाट बच्ने सतर्कता र उपायहरू मात्र हुन् तर कोरोना लागिहालेकाहरूका लागि यसले कुनै अर्थ राख्ने रहेनछ ।
कोभिड १९ संक्रमणको दोश्रो लहरमा संक्रमित हुनेहरूमा सवै भन्दा ठूलो खतरा श्वास–प्रश्वामा कठिनाई आउनु हो । श्वासप्रश्वासमा सहजता ल्याउन अक्सिजन लिनु अपरिहार्य हुन्छ । हामी सवै नेपालीले छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितको उपचारका लागि आवश्यक अक्सिजनको अभावको भयावह समाचार, दृश्य, देखिरहेकै छौं । हामी कहाँ पनि त्यही प्रकारको कोरोना संक्रमण दिनानुदिन बड्दै गईरहेको छ । समुदायमा फैलिन सुरू भएको एक महिने अवधिमा संन्सारको दोश्रो तीव्र कोरोना संक्रमण फैलने देशको रूपमा नेपभल पुगिसकेको छ । झापा जिल्ला पूर्व–दक्षिण भारतले घेरिएको छ ।
त्यतैबाट आएको कोरोनाले झापा जिल्लालाई घेरिसकेको अवस्था छ । यसकारण झापाली जनताको प्रण रक्षाका लागि समयमै अक्सिजनको प्रर्याप्त जोहो गरिनु पर्ने अति जरुरी छ । जिल्लाका १५ स्थानीय तह र प्रशासनले यसमा समयमै ध्यान पुर्याएनन् भने धेरै निमुखा झापली नागरिकले अक्सिजन अभावमा ज्यान गुमाउनु पर्ने बाध्यता आईपर्ने निश्चित छ । झापाका स्थानीय तह मध्ये तीव्र गतिमा कोभिड १९ को दोश्रो लहर फैलनेमा सदरमुकाम समेत रहेको भद्रपुर पहिलो नम्बरमा पुगिसकेको छ । खुल्ला सिमानाको दुरूपयोग भइरहेको प्रमाणका रूपमा सदरमुकाम क्षेत्रमा तीव्र फैलदो कोरोना संक्रमण देखिएको स्थानीयको गुनासो छ ।
समस्या जति सहज रुपमा लिईएको छ, त्यो भन्दा सयौं गुणा जटिल हुने छ । झपामा १५ वटै स्थानीय सरकारले समयमै प्रयाप्त अक्सिजनको जोहो गर्नु पर्ने छ । संभावित संक्रमित राख्न तथा उपचार गर्न आइसोलेसन र भेन्टिलेटरको व्यवस्था गर्न लागिपर्नु पर्ने समय आइसक्यो । यस्तो संवेदनशील समयमा स्थानीय सरकारको नेतृत्व निदाएको अवस्थामा छ । बरू पहुँचको दुरूपयोग गर्दै आफ्नो सुरक्षाका लागि भन्दै अक्सिजन जोहो गरेर स्थानीय सरकारका मान्छेहरू मख्ख परिरहेका छन् ।
प्रदेश र केन्द्र सरकार सत्ताको लडाइमा रहेको यस समयमा नागरिकको घरआँगनको सरकार समेत नागरिकको स्वास्थ्य सुरक्षामा उदासिन बन्दा अकालमा मर्नेको संख्या बढ्दो छ । कोभिड १९ संक्रमितको संख्या बढेसंगै अक्सिजन अभावमा विरामीको मृत्यु भएको तथा अस्पतालका आइसियु र भेन्टिलेटर संञ्चालनमा समस्या भएको समाचार आइरहँदा अक्सिजन उत्पादकहरूले भविष्यमा अझै ठूलो समस्या आइपर्ने चेतावनी दिइरहेका छन् । “बजारमा अक्सिजनको असाध्यै ठूलो अभाव छ । उत्पादक कम्पनीले उत्पादन गरेर भ्याएको अवस्था छैन । २४ सै घण्टा प्लान्ट चलेको भएपनि वितरण प्रणालीमा असाध्यै ठूलो चुनौति दिएको छ । कोभिड १९ संक्रमणको महामारी नियन्त्रणका लागि अक्सिजनको सहज आपूर्तिका लागि सरकारले हदैसम्मका प्रयास र उपायहरू अपनाउन निजी उद्योगीहरू र सरकारको तर्फबाट सहजीकरण र व्यवस्थापन गर्न जरुरी देखिन्छ । तीन तहकै सरकारको ध्यान यतातिर देखिएको छैन ।
अस्पतालहरू अक्सिजन नपाएर साँच्चिकै समस्यामा छन् । सरकारले अस्पताललाई अक्सिजन वितरण गर्न निर्धारण गरेको नयाँ ‘कोटा’ प्रथाले उनीहरूको आपूर्ति प्रणाली विथोलिएको छ । अहिले धेरै अस्पतालले थप बिरामी नलिने, सीमित संख्यालाई मात्रै उपचार गर्ने सार्वजनिक अपील गरिरहेका छन् । जतिसुकै बेला ‘उपचार धान्न नसक्ने’ अर्को घोषणा गर्न तयार भएर बसेका छन् । सबभन्दा गम्भीर पक्ष यो महामारीमा सरकार भन्ने सार्वजनिक संस्थाले आफ्नो औचित्यमै प्रश्न उठाउने परिस्थिति सिर्जना गरेको छ ।
सामान्य अवस्थामा पनि नागरिकको जीउ र सम्पत्ति रक्षाको जिम्मेवारी सरकारको हो । यो विशेष अवस्थामा त मुलुकको अभिभावक संस्था झन् बढी गम्भीर र जिम्मेवार हुने अपेक्षा हुनु अन्यथा होइन । तर, उसका पछिल्ला गतिविधिले मुलुकमा कोरोना संकट छ भन्ने देखाउँदैन । बालुवाटारका बैठक, छलफल, अध्यादेश र नियुक्तिले यो देशमा कोभिड–१९ व्यापक मात्रामा फैलिरहेको छ भन्ने कुनै संकेत गर्दैन । संघीय शासन रहेको नेपालमा संघ, प्रदेश पूर्ण गैर जिम्मेवार हुँदै गएका छन् भने स्थानीय सरकार समेत अलमलमा हुँदा स्वास्थ्य संकट चुलिदो छ । देश छ, जनता छैनन् भने शासन कसलाई गर्ने हो सरकार भन्दै नागरिक चित्कार सहित प्राण वायुको रक्षा खोजिरहेका छन् ।