आज झापामा २१३ संक्रमित १ को मृत्यु
भद्रपुर ३१ बैशाख । झापामा आज कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कायालय झापाले जनाएको छ । मृत्यु हुनेमा अर्जुनधाराका ५० बर्षीय पुरुष रहेकाछन् ।
स्वास्थ्य कार्यालयका अनुसार आज झापामा ९१ महिला र १२२ पुरुष गरी २१३ जनामा कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको छ । आजसम्मको कुल संक्रमित संख्या ७३८३, डिस्चार्ज भएका ४७५५, सक्रिय संक्रमितको संख्या २४६५ र कोरानाबाट मृत्यु हुनेको संख्या १७१ पुगेको छ ।
यता झापाको दमक नगरपालिका क्षेत्रभित्र चैत्र २५ गतेदेखि शुरु भएको नयाँ भेरियन्टसहितको कोरोना संक्रमणबाट संक्रमितको संख्या दमकमा ५ सय नाघेको स्वास्थ्य शाखाका कुबेर भट्टराईले जनाएकाछन् । उनका अनुसार ३१ गतेसम्ममा नगरमा संक्रमितको संख्या ५४६ पुगेको छ ।
आज सम्म उपलब्ध तथ्याङक अनुसार चैत्र २५ यता दमकमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ छ भने ४४ जना संक्रमित कोरोना मुक्त भएका छन ।
हाल दमकमा सक्रिय संक्रमितको संख्या भने ४५० छ । ति मध्ये १८२ महिला र २६८ पुरुष छन । नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईका अनुसार कोभिड उपचार केन्द्र बेलडाँगीमा २१, आम्दा अस्पतालमा २३, एडभान्स अस्पतालमा २१ र लाइफलाइन अस्पतालमा १७ जना संक्रमितहरुको उपचार भइरहेको छ ।