झापामा अक्सिजन बैंक स्थापनाको घोषणा

भद्रपुर । झापा जिल्लामा नयाँ भेरियन्टको कोरोना संक्रमण दर बढ्दै गएपछि देखिएको अक्सिजन अभाव हटाउन समुदाय स्तरबाट अक्सिजान बैंक स्थापनाको घोषणा गरिएको छ ।

एकका लागि एक अभियान अन्र्तगत विपन्न वर्ग लक्षित गरेर अक्सिजन अभावमा ज्यान जानबाट बचाउने उद्देश्य सहित अक्सिजन बैक स्थापनाको घोषणा गरिएको हो ।

जसका लागि आजबाट झापामा तीन वटा कार्यक्रम घोषणा गरिएको छ । आज भर्जुअल माध्यमबाट भएको पत्रकार सम्मेलनमा अभियानका संयोजक महेन्द्र गिरीले कार्यक्रम घोषणा गरेका हुन् ।

कोभिडको दोस्रो लहरमा अभियानले अक्सिजन बैंक स्थापना गर्ने, संक्रमित परिवारलाई खाद्य सामग्री उपलब्ध गराउन एक करोड संकलन गर्ने र एक्स–रे मेसिन खरिद गरेर सञ्चालनमा ल्याउने कार्यक्रम घोषणा गरिएको छ । ४ सय भन्दा बढी अक्सिजन सिलिण्डर चीनबाट आयात गर्ने संयोजक गिरीले जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा सहारा नेपालले १ सय थान अक्सिजन सिलिण्डर सहयोग गर्ने घोषणा गरेको छ । यस्तै, अष्ट्रेलियाबाट दिपक खनालले १० थान, अन्तर्राष्ट्रिय झापाली समाज समाजले अक्सिजन बैंकलाई १ सय थान सिलिण्डर उपलब्ध गराउने घोषणा गरेको छ ।