झापामा आज १६८ संक्रमित १ को मृत्यु

भद्रपुर २१ बैशाख । आज झापामा पिसिआर परीक्षणबाट ७० महिला ९२ पुरुष र एन्टिजेन परीक्षबाट २ महिला र ४ पुरुष गरी १६८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यसैगरी शिवसताक्षी ८ निवासी ७० बर्षीय एक पुरुषको झापास्थित बि एण्ड सि अस्पतालमा आज कोरोना संक्रमणबाट मृत्यु भएको सो कार्यालयले जनाएको छ ।

जसअनुसार, संक्रमित हुनेहरुमा दमकका ४ महिला १३ पुरुष, बिर्तामोडका १८ महिला २० पुरुष, गौरादहका ६ महिला ६ पुरुष, मेचीनगरका ७ महिला १० पुरुष, भद्रपुरका १७ महिला २० पुरुष, कनकाईमा ३ महिला ८ पुरुष, हल्दिबारी ६ पुरुष, बुद्धशान्तिमा २ महिला १ पुरुष, अर्जुनधाराका ४ महिला २ पुरुष, गौरीगन्जका १ पुरुष, कमल गापाका ६ महिला २ पुरुष, शिवसताक्षीका २ महिला १ पुरुष, बाह्रदशीका १ महिला १ पुरुष,अन्यमा १ पुरुष र एन्टिजेन परीक्षणबाट अर्जुनधाराका २ महिला ३ पुरुष र बाह्रदशीका १ पुरुष रहेकाछन् ।

स्वास्थ्य कार्यालयका अनुसार, हाल झापामा सक्रिबय संक्रमितको संख्या ७४१ रहेको छ भने मृत्यु हुनेको संख्या १३६ पुगेको छ ।

सर्वसाधारण जनताले स्वास्थ्य मापदण्डसँगै निषेधाज्ञाको पालना नगरिदिँदा झापामा दोस्रो लहरको कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । भारतको पश्चिम बङ्गाल र विहारसँग जोडिएको १४४ दशमलव २ किलोमिटर खुला सीमा रहेको झापामा दिनप्रतिदिन नयाँ भेरियन्टका सङ्क्रमित सङ्ख्या थपिँदै गएको छ ।

‘एक साताका जिल्लामा निषेधाज्ञा लगाएका छौँ,’ झापा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले भने, ‘जनताको लागि लगाइएको निषेधाज्ञा जनताले नै पालना नगरी दिँदा जोखिम बढेको छ ।’ निषेधाज्ञामा निजी तथा सार्वजनिक यातायातका सवारीसाधनका लागि जोर बिजोर प्रणाली लागु गरेका छौँ, तर त्यसको पालना जनताले नगरेको बुझियो, अब सङ्क्रमितको सङ्ख्या यसरी नै बढ्दै जाने हो भने यसअघि गरिएको निर्णयलाई सच्याउँदै सवारीसाधन पूर्ण रुपमा बन्देज लगाउँछौँ,’ प्रजिअ तिमिल्सिनाले भने ।

जिल्लामा निषेधाज्ञा जारी भएपछि जिल्लाका सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राही न्यून देखिएका थिए । जसले गर्दा झापाको सदरमुकाम भद्रपुर सुनसान जस्तै भयो। सरकारी कार्यालयमा अत्यावश्यक कामबाहेक अन्य सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए । ‘कार्यालयले सेवा बन्द गरेपछि सदरमुकाममा सेवाग्राहीको चहलपहल घटेको हो,’ उनले भने ।

जिल्लामा पहिलो दिन नै निषेधाज्ञाको उल्लंघन गर्ने ५३६ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक निषेश चापागाईंले बताए । उनका अनुसार दुई पाङ्ग्रे ४७४ र चार पाङ्ग्रे ६२ वटा सवारीसाधन नियन्त्रण लिएको हो। बिर्तामोड, भद्रपुर, चन्द्रगढी, मेचीनगर, धुलाबारी, बुधबारे, शनिश्चरे, सुरुङ्गा, दमक, चाराआली, गौरीगञ्ज, गौरदाहबाट सो सवारीसाधन नियन्त्रणमा लिएको चापागाईंले बताए।जोर बिजोर प्रणालीअनुसार आज जोर नम्बरका सवारीसाधन चलाउनु पर्नेमा त्यसको उल्लंघन गर्दै बिजोर नम्बर प्लेटका सवारीसाधन नियन्त्रणमा लिएको उनको भनाइ छ । नियन्त्रणमा लिएका सवारीसाधनलाई सम्बन्धित धनीलाई चेतावनी दिँदै बुझाउने कार्य भइरहेको उनले बताए ।