निषेधाज्ञाको स्वागत तथा बिरोध

जिल्ला प्रशासन कार्यालय झापाद्वारा निषेधाज्ञा जारी

भद्रपुर १७ बैशाख । झापामा एक साता लागि निषेधाज्ञा जारी गरिएको छ । भारतको पश्चिम बंगला र बिहारसँग जोडिएको झापा जिल्लामा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले बैशाख १९ गते आइतबार मध्यराती १२ बजेदेखि बैशाख २६ गते आइतबार मध्यराती १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

प्रशासन कार्यालय झापाले निषेधाज्ञा अवधिभर जिल्लामा चल्ने ४ पाङ्ग्रे, ३ पाङ्ग्रे र २ पाङ्ग्रे सवारी साधनमाथि जोर बिजोर प्रणाली लागु गरेको छ । सार्वजनिक एव निजी सवारी साधन, सिटी रिक्सा समेतले ९वैशाख १९ गते आइतबार मध्यराती १२ बजेदेखि वैशाख २६ गते आइतबार मध्यराती १२ बजेसम्म० निषेधाज्ञा भरी जोर गते जोर नम्बरको तथा बिजोर गते बिजोर नम्बरको सबै प्रकारको सवारीसाधन सञ्चालन गर्ने पाउने निर्णय गरेको छ ।

त्यस्तै अत्यावश्यक सेवाहरू जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूधजन्य पदार्थ, मासु तथा मासुजन्य वस्तु बोकेका सवारीसाधन, बैङ्क, वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, रेडक्रस, क्वारेनटाइन, आइसोलेसन, फोहोर मैला व्यवस्थापन, कुरियर तथा डाक सेवा लगायतका ढुवानी तथा यातायातका साधन सञ्चालन गर्न पाउने निर्णय प्रशासनले गरेको छ ।

त्यस्तै विवाह व्रतबन्ध जस्ता कार्यक्रममा अन्यत्र जिल्लामा जानु फर्कनु पर्ने भएमा २ वटा सवारी साधनमा बढीमा सात जना सम्मको लागि स्थानीय तहको सिफारिससहित प्रशासन कार्यालयबाट अनुमित लिनुपर्ने र काठमाडौँ उपत्यकामा सो नियम लागु नहुने प्रशासन कार्यालयले जनाएको छ । सरकारी कर्मचारी, बैङ्क तथा वित्तीय संस्थाका र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा सवारीसाधनमा आवतजावत गर्न पाउने निर्णय समेत गरेको छ ।

प्रशासन कार्यालय झापाले निषेधाज्ञाका अवधिभर जिल्लाका होटेल तथा रेस्टुरेन्टलाई बेलुका ८ बजेसम्म खुला राख्ने निर्णय गरेको छ । तर, औषधि तथा स्वास्थ्य सामग्री पसल बाहेक अन्य पसल बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म खुल्ला गर्ने, डिपार्टमेन्ट स्टोरको हकमा बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

यो निर्णयले होटेल व्यवसायीलाई प्रशासनले छुट दिएको भन्दै सर्वसाधारणमा आलोचना सुरु भएको छ । होटेल र रेस्टुरेन्ट खुला रहने भएपछि संक्रमण फैलिनबाट कसरी रोक्ने भन्नेमा गम्भीर प्रश्न उठेको छ । होटेल र रेस्टुरेन्टका लागि पनि सीमित समय तोक्नु पर्ने अहिले आवाज उठेको छ ।