नेपालमा कोरोना संक्रमण बृद्धि दर दुई सय २८ प्रतिशत

भद्रपुर । कोरोना संक्रमणका दृष्टिले नेपाल दक्षिण एसियाकै खतराको सूचीमा रहेको विज्ञहरुले बताउँदै आएका छन् । नेपालमा नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना फैलने क्रम तीब्र रुपमा बढेको पाइएपछि विज्ञहरुको यस्तो भनाई आएको हो । पछिल्लो समय कडा लक्षणका संक्रमित भेटिन थालेपछि धेरैलाई अस्पतालमै भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएपछि अस्पतालका शैय्याहरू भरिँदै जान थालेका छन् ।

पछिल्लो तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण बृद्धिदर दुईसय २८ प्रतिशतले बढेको छ । अघिल्लो हप्ताको तुलनामा नेपालमा २ सय २८ प्रतिशतले संक्रमण दर बढेको डा. अर्चना श्रेष्ठले जानकारी दिनुभयो । डा. श्रेष्ठले भन्नुभयो –नेपालको संक्रमण वृद्धिदर उच्च तहमा पुगेको छ, संक्रमण दर यही रेसियोमा बढेमा दैनिक १ सय ४९ जनासम्मको ज्यान जान सक्छ ।

दोस्रो लहरमा देखिएको संक्रमण कडा हुँदा छिटो भर्ना गरेर उपचार गराउनुपर्ने संक्रमित अझ धेरै भएको डा. शेरबहादुर पुनको भनाई छ । पुनले भन्नुभयो–यसपटकको संक्रमण कडा खालको देखियो, जसले गर्दा छिटो भर्ना भएर उपचार गराइहाल्नुपर्ने तथा धेरैजसो संक्रमितलाई अक्सिजनको आवश्यकता पर्ने अवस्था छ ।‘