झापामा आज ६३ जना संक्रमित १ को मृत्यु
भद्रपुर १७ बैशाख । झापामाा आज पिसिआर परीक्षणबाट २२ महिला र ३४ पुरुष, एवम् एन्टिजेन परीक्षणबाट २ महिला र ५ पुरुष गरी जम्मा ६३ जनामा कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जसअनुसार, संक्रमित हुनेहरुमा पिसिआरपरीक्षणबाट दमकमा ४महिला ६ पुरुष, बिर्तामोडका ५ महिला ५ पुरुष, मेचीनगरमा १ महिला ३ पुरुष, भद्रपुरमा १ महिला ४ पुरुष, कनकाइमा ४ महिला ३ पुरुष, हल्दिबारीका १ महिला २ पुरुष, अर्जुनधारामा १ महिला ५ पुरुष, बुद्धशान्तिगापामा १ पुरुष, गौरीगन्जमा १ महिला २ पुरुष, कमलगापामा १ पुरुष,शिवसताक्षीमा ३ महिला १ पुरुष र झापा गापामा १ महिला १ पुरुष रहेका छन् भने एन्टिजेन परीक्षणबाट कोरोना पोजेटिभ देखिएका संक्रमितहरुमा बिर्तामोका १ महिला १ पुरुष, मेचीनगरमा २ महिला र हल्दिबारीका २ महिला १ पुरुष रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसैगरी झापा गाउँपालिका ४ का ५७ बर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको सो कार्यालयले जनाएको छ । योसंगै झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३४ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार हाल झापामा सक्रिय संक्रमितको संख्या ३३८ पुगेको छ ।
यता, झापाको सुदूर दक्षिण पश्चिमस्थित गौरीगंज गाउँपालिकामा कोरोना महामारी बढेसंगै नेपाली सेनाको एक टोली परिचालित भएको छ । झापाको चारआली स्थित नयाँ त्रिनाथ गणका क्याप्टेन संजीव खत्रीको नेतृत्वमा ३० जना नेपाली सेनाको टोली गौरीगंजमा पुगेको हो ।
गौरीगंज गाउँपालिका वार्ड नं. ४ स्थित बघुवा प्राविको भवनमा उनीहरू बसेका छन् । भारतीय सिमाबाट करिब २ किलोमिटर दुरीमा बसेको उक्त नेपाली सेनाको टोलीले कोरोना भाईरसको संक्रमणबाट बच्न , नियन्त्रण गर्न , सीमामा हुने आवतजावतलाई रोक्न, स्वास्थ्य सम्वन्धी जनचेतना फैलाउन, मास्कको प्रयोगलाई व्यापक बनाउन र अन्य सुरक्षा निकायसंग समन्वय गरेर स्वास्थ्य सुरक्षाका अन्य उपायहरूलाई अवलम्बन गरेर आम नागरिकलाई सुरक्षित राख्न नेपाली सेनाको टोली गौरीगंजमा खटी आएको क्याप्टेन संजीव खत्रीले बताए । उनीहरू दैनिक रूपमा भारतीय सीमा क्षेत्रमा र बजार क्षेत्रमा गस्ती गर्नेछन् ।