७ दिनसम्म गाडी चलाउन नपाइने

काठमाडौं । उपत्यकामा बैशाख १६ गतेदेखि ७ दिनसम्म सार्वजनिक एवं निजी गाडी चलाउन नपाइने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणका लागि वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो ।

तर, अत्यावश्यक सामान बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनलाई काठमाडौं उपत्यका प्रवेशमा रोक लगाइएको छैन ।

एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, बैंक, वित्तिय संस्था, दुरसंचार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानी तथा यातायातका साधनमा संचालन गर्न पाइने तीन जिल्लाको निर्णय छ ।

चिकित्सक संघले स्वास्थ्य संकटकाल घोषणा गर्न सरकारसँग माग

यसैगरी, नेपाल चिकित्सक संघले कोभिड १९ बाट अति प्रभावित जिल्लाहरुमा स्वास्थ्य संकटकाल घोषणा गर्न सरकारसँग माग गरेको छ । चिकित्सक संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालहरुमा सघन उपचार शैया, औषधि र अक्सिजनको अभावका कारण मृत्यु हुनेहरूको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको परिस्थितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संक्रमण नियन्त्रणका लागि सरकार, स्वास्थ्यकर्मी र सर्वसाधारणलाई सावधानी अपनाउन संघको अपिल छ । त्यस्तै संघले कोभिड नियन्त्रणका लागि सरकार, स्वास्थ्यकर्मी र सर्वसाधारणलाई छुट्टाछुट्टै सुझाव पनि दिएको छ ।

संघको कार्यालयमा भएको विज्ञहरुसँगको छलफलपछि संघले १८ बुँदे सुझाव पनि सार्वजनिक गरेको छ ।

चिकित्सकले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई क्षमतावान बनाउनु पर्ने अत्यन्त जरुरी अवस्थालाई समेत नजरअन्दाज गरेको अवस्थामा समेत हामी सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यानको सुरक्षाका निम्ती सजगता अपनाउँदै नागरिकहरुको स्वास्थ्य सेवा प्रवाहमा खटिन यस संघ सबैमा हार्दिक अपिल गर्दछ ।’