सुरज विश्वास र राजन गिरीको स्मृति दिवस मनाइयो
भद्रपुर ६ बैशाख । आज वैशाख ६, झापाली दुई सपुतले सहादत प्राप्त गरेको दिन । सोही दिनको स्मरणमा सहिद सुरज विश्वास र राजन गिरीको १५ औं स्मृति दिवस झापामा विविध कार्यक्रम गरी मनाइएको छ । २०६२–६३ को दोस्रो जनआन्दोलनका क्रममा आजकै दिन झापाको सदरमुकाम चन्द्रगढीमा नेपाली सेनाको गोली लागेर सहादत प्राप्त गरेका सहिद सुरज विश्वास र राजन गिरीले देशका लागि बलिदान दिएका थिए ।
सोही अवसरमा सहिद सुरज विश्वास पार्क निर्माण समितिले सोमबार विहान भद्रपुरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । भद्रपुर( ६ स्थित सहिद सुरजको अर्ध कदको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । सहिद सुरज विश्वास पार्क निर्माण समितिका अध्यक्ष गोपाल मण्डलको अध्यक्षता तथा प्रदेश सांसद वसन्त बानियाँको प्रमुख आतिथ्यमा भएको श्रद्धाञ्जली सभामा सहभागीहरूले मुलुकमा सङ्घीय लोकतन्त्र र गणतन्त्र स्थापना गर्नका लागि सहिदले दिएको बलिदानको मूल्यलाई कसैले पनि भुल्न नहुने बताएका छन् ।