प्रधानमन्त्री पदका लागि मरिमेटेर नलाग्ने ः देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि मरिमेटेर नलाग्ने तर पाएमा नछाड्ने नीति रहेको बताएका छन् । सभापति देउवाले वर्तमान सरकारलाई बहुमतको समर्थन रहेकाले बहुमतको सरकारसँग कांग्रेसले निहुँ नखोज्ने पनि सुनाए । आईतबार बुढानिलकण्ठ निवासमा आयोजित एक कार्यक्रममा देउवाले सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेको प्रष्ट पारेका हुन् ।
सभापति देउवाको भनाई छ– ‘प्रचण्डजीहरूले समर्थन फिर्ता लिनुभएको छैन, त्यसैले अहिले बहुमतकै सरकार छ, बहुमतप्राप्त सरकार भएको बेला हामीले अरू कुनै कुरा सोच्ने कुरा छैन ।’
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकारलाई मानेर अगाडि बढ्न कांग्रेस तयार रहेको पनि देउवाले बताए । देउवाले भने– ‘हामी प्रधानमन्त्री पदको लागि लालायित छैनौं, तर राजनीतिक परिस्थितिबाट यदी भोलि हामीले नै सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आयो भने पछाडि पनि हट्दैनौँ ।’ अहिले देशको राजनीति अन्त्यन्तै तरल अवस्थामा रहेको भन्दै देउवाले ‘स्थिति यतै जान्छ भन्नसक्ने अवस्था छैन, अवस्था जस्तो आउँछ, हामी त्यहीअनुसार अगाडि बढ्छौं’ भने ।