आगलागीबाट करडौंको क्षती

भद्रपुर । झापाको भद्रपुर र बुद्धशान्तिमा आइतबार बिहान पख आगलागी हुँदा लाखौँको धनमाल क्षति भएको छ । भद्रपुरको फर्निचर उद्योग र बुधबारेको बाख्रा फार्ममा आगलागी भएको हो । बिहान ३ बजे भद्रपुर ७ मा यादवराज पोख्रेलले सञ्चालन गरेको एपी फर्निचर उद्योगमा चट्याङ पर्दा बिद्युत् सर्ट भई आगलागी भएको हो । आगलागीबाट तयारी फर्निचर, फर्निचर बनाउन प्रयोग हुने काठ गरी पचास लाख मूल्य बराबरको क्षति भएको छ । सो आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय , भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा ४ः१५ बजे समयमा पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

यसैगरी, बुद्धशान्ति गाउँपालिका ४ देवी बस्ती बस्ने ज्योति विमलीको इँटा, काठ र टिनको छानो भएको एक तले बाख्रा फार्ममा आगलागी भएको छ । अचानक आगलागी हुँदा फार्मभित्र रहेका बोयर जातका ४० वटा बाख्रा जलेर मरेका छन् । साथै बाख्रालाई खुवाउने दाना र फार्म पूर्ण रुपमा जलेर नष्ट हुँदा पैसठ्ठी लाख बराबरको क्षति भएको जनाइएको छ । सो आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय , बिर्तामोड र भद्रपुरको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।