सुपारीका तस्कर ओलीका प्रमुख आर्थिक सल्लाहकार

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पदीय दुरुपयोगको केन्द्र बनेको एउटा उदाहरण फेला परेको छ । त्यहाँ बसेर प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार मोतिलाल दुगडले सुपारीको अनियमित व्यापारलाई प्रोत्साहन र सहयोग समेत गरेको समाचार छ । दुगडले हालै आफू निकट झापाका सुपारी व्यापारीलाई सुपारी आयात गर्ने अनुमति दिएको थाहा भएको छ । विभिन्न देशबाट आयात हुने सुपारी नेपालमा खपत हुने भनी ल्याउने गरिए पनि सबैजसो सुपारी भारतका विभिन्न बजारमा तश्करी हुने गरेको भन्सार विभाग सूत्रले बताएको छ ।

विभाग सूत्रका अनुसार प्रमुख सल्लाहकार दुगडको दवावमा यस वर्षको २५ हजार टन कोटामध्ये सबैभन्दा बढी झापा बिर्तामोडका व्यापारी प्रदीप मित्तलले १० हजार टन सुपारी आयात गर्ने अनुमति पाएका छन् । त्यसैगरी गोबिन्द सरियाले ५ हजार टन, बिराटनगरका व्यापारी प्रदीप कुमार मुरारका र दिनेश राठीले २ हजार पाँचसय टनका दरले आयात गर्ने अनुमति पाएका छन् ।

मित्तल, सरिया, मुरारका र राठी झापाका चर्चित सुपारी व्यापारी दिपक पोखरेल समूहका सदस्य मानिन्छन् । त्यसमध्ये पोखरलले मात्र कोटाको २५ हजारमध्ये २० हजार टन पाएको विभागले जनाएको छ । सौर्य एयरलाईन्सका सञ्चालक पोखरेल समूहले बिगतदेखि नै इण्डोनेशिया र थाईल्याण्डबाट आयात गरिने सुपारी नेपालमा उत्पादन भएको नक्कली कागजात र उत्पत्तिको प्रमाणपत्र बनाएर भारततर्फ निर्यात गर्दै अर्बौं रकम कमाएको विभाग सूत्रको भनाई छ ।

सरकारले चार महिनाका लागि २ करोड २७ लाख किलो आयातको कोटा तोकेको छ । जबकि आर्थिक वर्ष २०७६ ०७७ मा २९ लाख ६२ हजार किलो मात्रै सुपारी आयात भएको देखिन्छ । अझ आर्थिक वर्ष २०७५ ७६ मा करिब ११ लाख २८ हजार ३ सय एघार किलो मात्रै सुपारी आयात भएको विभागको रेकर्डमा देखिन्छ ।

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको सुपारी तश्करी सम्बन्धी उजुरीको फायल कार्बाहीका लागि प्रक्रिया अगाडि बढाउनुपर्नेमा गुपचूप राखिएको बताईएको छ । केही राजनीतिक दलका नेतासमेत मुछिने देखिएपछि त्यो फायल थन्क्याईएको हुनसक्ने समाचार सूत्रको बुझाई छ । —सरल पत्रिका