कसैको दबाब र प्रभावमा काम नगर्ने ः सभामुख

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले कसैको दबाब र प्रभावमा परेर आफूले काम नगर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा निर्वाचित पदाधिकारीको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले सभामुखको जिम्मेवारीमा रहँदासम्म पदको ख्याल गरेर काम गर्ने बताए । ‘जति खेरसम्म म सभामुखको जिम्मेवारीमा रहन्छु त्यस बेलासम्म म देश र जनताको पक्षमा काम गर्ने छु, कसैको दबाबमा पर्दिन, मेरालाई पद ठुलो होइन, देश र जनताको विरुद्ध कुनै निर्णय गर्दिन, जोखिम मोल्न तयार छु, त्याग गर्न तयार छु,’ सभामुख सापकोटाले भने ।

शनिवारको बालुवाटारको सर्वदलीय बैठकमा सभामुखप्रति आक्रोश पोखेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सभामुख सापकोटाले साङ्केतिक रूपमा कसैको दबाब र प्रभावमा परेर आफूले काम नगर्ने जवाफ दिएका हुन् । उनले अहिलेको राजनीतिक अवस्था टक्कर लिने सोचबाट अघि बढिरहेकोसमेत बताए । ‘केहीलाई सधैँ भ्रममा राख्न सकिन्छ, तर सबैलाई सधैँ भ्रममा राख्न सकिँदैन, अहिलेको राजनीतिक अवस्था टक्कर लिने दृष्टिकोणमा आधारित छ,’ सभामुख सापकोटाले भने ।