कोरोनाबाट एक महिलाको मृत्यु
भद्रपुर १२ चैत । भारतबाट फर्किएकी महिलाको आज बिहीबार मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–३ स्थित सुरुङ्गाकी ३९ वर्षीया महिला हुन् ।
कनकाई नगरपालिका कोरोना फोकल पर्सन नारायण अधिकारीका अनुसार सुरुङ्गा बजारमा पसल गरी बस्ने ती महिलाको उपचारको क्रममा बिहीबार बिहान ४ बजे बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको हो । करिब १० दिन अघि महिला भारत आफन्तलाई भेटेर घर फर्किएकी थिइन । उनको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको छ ।
घर फर्किए लगत्तै ती महिलालाई श्वास प्रश्वास सम्बन्धी रोगको समस्या देखिएपछि उपचारका लागि बिर्तामोडकै बिर्ता सिटी हस्पिटलमा भर्ना गरिएको थियो । त्यहाँ उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । थप उपचारका लागि बिएण्डसी अस्पताल भर्ना गरिएकोमा उनको मृत्यु भएको छ ।