दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकता पाए

भद्रपुर १२ चैत । भारतमा ४० वर्ष जेल बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)ले नेपाली नागरिकता पाएका छन् । उनले विहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिएका हुन् ।

उनलाई इलामका सहायक सिडिओ झरेन्द्रप्रसाद चापागाई र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुएँलले नागरिकता प्रदान गरेका थिए । दुर्गाप्रसादको परिवारले नागरिकताका लागि चासो देखाएपछि जिल्ला प्रशासन कार्यालयले पनि सहजीकरण गरिदिएको थियो । ‘हामीलाई माइ नगरपालिका र त्यहाँका जनप्रतिनिधिले पहल गरेपछि हामीले पनि दुर्गाप्रसादलाई नागरिकता दिएका हौं ।’ सहायक सिडिओ चापागाईले भने ।

योसँगै भारतमा क्षतिपूर्ति माग दाबीका लागि पहल गर्न भाइ प्रकाशचन्द्र तिम्सिना र भतिजा गोपाल तिम्सिनाको नाता प्रमाणिकरण प्रमाणपत्र पनि बनाइएको छ । उच्च अदालत कोलकाताले तिम्सिनाको परिवारले क्षतिपूर्ति मागे दिनू भनी आदेश दिए लगत्तै प्रक्रिया सुरु गर्न नाता प्रमाणिकरण गरिएको भाइ प्रकाशचन्द्रले बताए ।