मास्क नलगाउनेलाई कारबाही गरिने
काकरभिट्टा नाकामा आवा—गमनमा कडाई
भद्रपुर ११ चैत । हिजोसम्म यात्रु आवागमनमा सहज रहेको झापाको काकरभिट्टा नाका आजबाट कडाई गर्न थालिएको छ । छिमेकी मुलुक भारतका केही राज्यमा कोरोना भाइरसको दोस्रो लहर देखिएसँगै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा मङ्गलवार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सीमा नाकामा कडाई गर्ने निर्णय गरेको हो ।
केन्द्रको बैठकले आउँदो चैत १६ गते सोमबार तराईमा मनाइने होली पर्वमा भिडभाड नगर्न नगराउन सबैमा आग्रह गर्ने, स्वास्थ्य सुरक्षाको मापदण्डको पालना नगर्ने र मास्क नलगाउनेलाई संक्रमण रोग ऐन बमोजिम कारबाही गर्ने, संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा आएका क्वारेनटाइन, आइसोलेसन केन्द्रहरूलाई तयारी अवस्थामा राखी स्वास्थ्य केन्द्रबाट प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउन आवश्यक तयारी गर्न सबै स्थानीय तह तथा स्वास्थ्य कार्यालयलाई अनुरोध गर्ने । सीमा नाकामा यात्रुहरूको आवतजावतलाई व्यवस्थित बनाउन सुरक्षा निकायहरूले अनिवार्य अभिलेख राख्ने व्यवस्था गर्ने र नेपाल प्रवेश गर्ने यात्रुहरूलाई अनिवार्य स्वास्थ्य परीक्षण गराएर मात्र प्रवेश गर्न दिने व्यवस्था मिलाउने निर्णय गरिएको झापाका प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए भारतका केही राज्यमा कोरोनाको दोस्रो लहर देखिएपछि रोजगारीमा भारत गएका नेपालीहरू पनि अहिले धमाधम स्वदेश फर्किन थालिसकेका छन् ।