ओली नेतृत्वको सरकार रहेसम्म संसद्को अपमान जारी रहने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले केपी शर्मा ओली नेतृत्वको सरकार रहेसम्म संसद्को अपमान जारी रहने बताएका छन् । मंगलबार संसद् बैठकमा सम्बोधन गर्दै थापाले यो सरकार जति दिन रहन्छ, त्यति नै बढी संसद्को अपमान, तिरस्कार उपेक्षा हुने बताए ।

प्रधानमन्त्री ओलीलाई यो संसद्सँग बदला लिनु रहेको भन्दै थापाले संसद्को गरिमा कायम राख्न आफ्नो ठाउँबाट डटेर लड्ने स्पस्ट पारे । ‘संसद्को गरिमा कायम राख्न हामी हाम्रो ठाउँबाट डटेर लड्ने छौं’ थापाले भने,‘बाँकी जिम्मा जनताको हो । यथोचित समयमा जनताले यसको हिसाबकिताब गर्नेछन्।’ संसद् र लोगो लगाउने सांसदको तिरस्कार र उपेक्षाकासाथै जनताको उपेक्षा गरिएको बताए ।

जसले हामीलाई सांसद बनाए यो तिनै जनताको अपमान भएको भन्दै थापाले जनताले अपमानको बदला जनताले लिने बताए । प्रतिनिधिसभा भंग गर्ने सनक सही थियो भन्ने स्थापित गर्नका लागि संसद्लाई कामविहीन बनाउने प्रपञ्च भइरहेको थापाले आरोप लगाए ।

उनले भने, ‘हामी काम गर्न तयार छौं । एसिड आक्रमणकारीलाई नियन्त्रण गर्ने कानुन बनाउन दिइएन भनेर हल्ला गर्ने तर संसद्लाई एउटा विधेयक पनि नदिने अनि विधेयकलाई कानुन बनाउन चाहिने राष्ट्रिय सभाको बैठक नबोलाउने?’ विधेयक अधिवेशनमा आफूहरू काम गर्न तयार रहे पनि सरकारले संसदलाई एउटा पनि विधेयक नदिएको थापाको भनाइ छ ।