चुम्लुङ झापा जिल्ला कार्यसमिति विस्तार

दमक १० चैत । लिम्बु जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ झापा जिल्ला कार्यसमिति विस्तार गरिएको छ ।नवनिर्वाचित कार्यसमितिको सम्पन्न जिल्ला बैठकले विधान बमोजिम राष्ट्रिय चुम्लुङ् सदस्य र जिल्ला सदस्य मनोनित गरिएको अध्यक्ष सेसेहाङ फियाकले बताए ।

उनका अनुसार बैठकले झापाबाट प्रतिनिधित्व गर्न राष्ट्रिय चुम्लुङ् सदस्य पदमा विर्तामोडका जनबहादुर जवेगु, दमकका गुमानसिङ् सम्बाहाङफे र चन्द्रगढीका महेन्द्र लावती मनोनित गरेको छ । त्यसैगरी विधानसम्मत २१ सदस्यीय कार्य समिति हुनुपर्ने व्यवस्था भएपनि अधिवेशनद्वारा ११ सदस्यीय मात्र चयन गरेकोले बाँकी सदस्यहरुमा क्रमशः कमल गाउँपालिकाकी चन्द्रकला लिम्बू, भिमराज फियाक, शर्ण लोवा, जङ्गबहादुर काम्बाङ्, गौरब योङ्हाङ्, इन्द्र इङ्नाम, इन्द्र ईजम र जयकुमारी चेम्जोङ्लाई मनोनित गरि १९ सदस्यीय बनाएको छ । बाँकी २ जना आगामी बैठकमा मनोनित गर्दै कार्य समिति पूरा गर्ने बैठकले निर्णय गरेको छ । जिल्ला चुम्लुङ् सदस्य र सल्लाहकार भने आगामी बैठकबाट मनोनित गर्ने समेत निर्णय भएको जिल्ला सचिव प्रेमचन्द्र लिम्बूले वताए ।

त्यस्तै चुम्लुङ् केन्द्रीय कार्यालयबाट प्रकाशित तास्न्छोप्पा मासिक पत्रिका व्यवस्थित रूपमा सञ्चालन गर्दै जाने निर्णय गर्दै झापा प्रतिनिधि पनि हेरफेर गरेको छ । जसअनुसार दमकका गुमानसिङ् सम्वाहाङ्फेलाई प्रतिनिधि तोकेको छ, यो भन्दा अघि देवेन्द्र चेम्जोङ् रहेका थिए । बैठकले मासिक रूपमा बस्ने नियमित बैठक प्रत्येक महिनाको पहिलो शनिवार मध्यान्ह बस्ने समेत निर्णय पारित गरेको छ ।