धान क्षेत्रमा इटा उत्पादन बढ्दै

कचनकवल, ६ फागुन । नेपाललाई धान उत्पादनमा आत्मनिर्भर बनाउन नेपाल सरकारले अरबौं लगानी गरिरहेको धान सुपर जोन क्षेत्र स्थानीय सरकारका केही व्यक्तिको कमाइखाने भाँडो बन्दा इटा उत्पादन केन्द्रमा रूपान्तरण हुने खतरा बढेको छ । दक्षिणी झापाको कचनकवलमा घोषित धान सुपरजोनप्रति स्थानीय सरकार जिम्मेवार हुन नसक्दा धान खेत इँटा उत्पादन केन्द्र निर्माण हुँदै गएको हो ।

धानमा भन्दा इटाबाट बढी फाइदा आउने भइपछि इटा उद्योगीले खेती योग्य जमीन खरिद गरी जथाभाबी माटो खन्न थालेपछि स्थानीय किसानमा चिन्ता थपिएको छ । झापामा पहिलो स्थानीय तहको रूपमा सरकारले २०७० मा साविकको बनियानी, केचना र पथरिया गाविसलाई धान सुपर जोन घोषित गरेर उत्पादन बढाउन बिउबिजन, उपकरण, प्रविधि, सिञ्चाइ प्रणाली लगायतमा सहयोग गर्दै अहिलेसम्म करोडौं खर्च गरिसकेको छ । सरकारले धान सुपर जोनका लागि कचनकवल गाउँपालिकामा करोडौँ लगानी गरिसकेको भए पनि स्थानीय सरकारका प्रतिनिधिहरूले सुपरजोनको मर्म बिर्सन पुग्दा खेतको माटो खनेर इटा बनाउने सहरका व्यापारी मोटाउने अवस्था आएको स्थानीयको आरोप छ ।

स्थानीय रतनलाल राजवंशीका अनुसार पछिल्लो समयमा कचनकवल गाउँपालिकामा धमाधम इँटा उद्योग खोल्ने र उद्योगलाई चाहिने माटो त्यही खेतीयोग्य जमिन खन्दै उद्योगीले लैजान थालेका छन् । उनका अनुसार उद्योगीले खेतीयोग्य जमीन बजार मूल्यभन्दा बढी खर्चेर दलाल मार्फत खरिद गरी जथाभावी माटो खन्न थालेपछि कचनकवल गाउँपालिका–६ बनियानीका स्थानीय किसान त्यस्तो कार्यको विरोधमा उत्रिएका छन् । तर, स्थानीय सरकारले चासो नदिँदा समस्या बढ्दै गएको छ ।

त्यहाँको जमीनको मूल्य बिघाहको १२ देखि १४ लाख पर्ने भए पनि उद्योगीले २० लाख रुपैयाँ बढी खर्चेर दलाल लगाएर खरिद गर्ने गरेको किसानहरू बताउँछन् । त्यसरी खरिद गरेको जमीनमा जेसिभी लगाएर माटो खन्दै भट्टामा लैजाने गरेका छन् । यता संघीय सरकारले पनि सुपरजोन क्षेत्रमा खेती बाली बाहेक अन्य प्रयोजन गर्न नपाउने गरी रोक नलगाएको कारण स्थानीय सरकारका केही व्यक्तिहरूले धान क्षेत्रमा इटा उद्यम सञ्चालनका लागि लचिलो भएर सहयोग गरिरहेको स्थानीयको दुखेसो छ ।