आफूहरू पार्टी एकताको पक्षमा रहेका ः माधव नेपाल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् । अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले राष्ट्रिय भेलामा पनि आफूहरूले पार्टी फुटाउने कुरा नगरेको बताए । ‘हामी पार्टी एकताको पक्षमा छौं । अदालतको फैसला अनुसार पुरानै स्थितिमा फर्कनु परेपछि २०७५ जेठ २ गतेको अवस्थामा पार्टीका सबै संरचनालाई यथावत सक्रिय पार्न सहमत भएपनि अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली त्यसमा तयार नहुँदा समस्या देखिएको हो’ नेपालले भने ।
राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीलाई कारवाही गर्ने अध्यक्षले चेतावनी दिए पनि कसैको पनि पद र जिम्मेवारी अध्यक्षले खोस्न नसक्ने उनले बताए । कार्यकर्ताहरूलाई धैर्यता र हिम्मतका साथ पार्टी एकताको पक्षमा उभिन पनि उनले निर्देशन दिए ।
‘पूर्व एमालेको ठाउँमा फर्किऔं । कार्यकर्ता भेलामा भनेको कुरा के हो भने हामी पार्टी फुटाउने होइन पार्टी एकतावद्ध बनाएर लैजाने हो’ नेपालले भने,‘२०७५ साल जेठ ३ गते दुईवटा पार्टी एकतावद्ध भए । एकतावद्ध हुनुभन्दा पहिले जेठ २ गते सम्म जुन(जुन संरचना थिए, जोजो पदाधिकारी, सदस्य थिए, ती सबैलाई यथावत रुपमा जिम्मा दिनुपर्छ ।’ पार्टी एकतावद्ध भएर अघि बढ्नुपर्ने भन्दै नेपालले एमाले पार्टी हउनजेल कसैले पद खोस्न नसक्ने बताए ।