झापामा ४५ हजार बढीले लगाए कोभिड–१९ विरुद्धको खोप
भद्रपुर ८ चैत । झापामा अहिलेसम्ममा ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्ध सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको सङ्ख्या ४५ हजार ३५२ पुगेको छ ।
झापामा ८ वटा नगरपालिका र ७ वटा गाउँपालिका छन् । जसमध्ये सबैभन्दा बढी दमक नगरपालिकाका पाँच हजार ४५५ जनाले र सबैभन्दा कम बाह्रदशी गाउँपालिकाका एक हजार २०० जनाले मात्र खोप लगाएका छन् ।
शिवसताक्षी नगरपालिकाका चार हजार ७४९ जनाले, गौरादह नगरपालिकाका चार हजार ६५३ जनाले, विर्तामोड नगरपालिकाका तीन हजार ७७३ जनाले, कनकाई नगरपालिकाका तीन हजार ४९९ जनाले, कमल गाउँपालिकाका तीन हजार २४८ जनाले र भद्रपुर नगरपालिकाका तीन हजार ७५ जनाले कोभिशिल्ड खोप लगाइसकेका छन् ।
यसैगरी, मेचीनगर नगरपालिकाका दुई हजार ८५४ जनाले, अर्जुनधारा नगरपालिकाका दुई हजार ७२३ जनाले, गौरीगञ्ज गाउँपालिकाका दुई हजार ४५१ जनाले, कचनकबल गाउँपालिकाका दुई हजार १२३ जनाले, हल्दिबारी गाउँपालिकाका दुई हजार एक जनाले, झापा गाउँपालिकाका एक हजार ८२३ जनाले, बुद्धशान्ति गाउँपालिकाका एक हजार ७०९ जनाले र बाह्रदशी गाउँपालिकाका एक हजार २०० जनाले उक्त खोप लगाइसकेका छन् ।
झापामा फागुन २३ गतेदेखि प्राथमिकताका आधारमा खोप लगाउने कार्य जारी छ । पहिलो चरणमा कोभिड १९ महामारी विरुद्ध अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र स्वयम्सेवकहरुले खोप लगाएका थिए । त्यसपछिका चरणमा पत्रकार, सुरक्षाकर्मी, जनप्रतिनिधि र ज्येष्ठ नागरिकहरुले खोप लगाउन पाएका थिए ।