जङ्गली हात्तीले मजदुरको ज्यानलियो

भद्रपुर ४ फागुन । झापामा जङ्गली हात्तीको आक्रमणबाट घाइते दुईमध्ये एक मजदुरको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट इलाम जिल्ला देउमाइ नगरपालिका १० बस्ने १९ वर्षीय विजय खातीका उपचारको क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।े

बुद्धशान्ति गाउँपालिका २ स्थित बिरिङ खोलाको बिन्दुली बाँध नजिकै ढुङ्गा गिट्टी ढुवानीमा खटिएका दुई मजदुरमाथि बुधवार बिहान ६ बजे हात्तीले आक्रमण गरेका थिए । अर्को मजदुर अर्जुनधारा नगरपालिका १ सिस्ने निवासी १९ वर्षीय मिलन कार्की डोली सामान्य घाइते भएका थिए । डोलीको देब्रे खुट्टामा सामान्य चोट लागेको बताइएको छ ।

त्यस्तै हात्तीले एउटा गाईको बाछी मारेको छ । बुद्धशान्ती गाउँपालिका २ बस्ने मणि कट्टेलले पालेको बाछीलाई हात्तीले दारा प्रहार गरी मारेको प्रहरीले जनाएको छ ।