लागू औषधसहित भारतीय महिला पक्राउ
भद्रपुर ४ फागुन । झापामा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दुई भारतीय महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला खोरीवारि थाना मैनागुरी ग्राम बस्ने २७ बर्षीया सुनिता हेमरम र सोही ठाउँका ३२ बर्षीया अनिता हेमरम रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले जानकारी दिए । सीमा नाकाबाट चोरी निकासीको माध्यमबाट ब्राउन सुगर नेपाल भित्राइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई मेचीनगर नगरपालिका १५ ज्यामिरगढी फडानी स्थित कासघारीबाट पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट १५० ग्राम ब्राउन सुगर बरामद गरेको छ । महिलाहरूले ब्राउन सुगर संवेदनशील अङ्गभित्र लुकाएर ल्याएको प्रहरीले जनाएको छ । बरामद गरिएको ब्राउन सुगरको नेपाली बजार मूल्य करिब ८ लाख रुपैयाँ पर्छ । पक्राउ परेका महिलाहरूलाई भद्रपुरस्थित जिल्ला प्रहरी कार्यालय झापा पठाइने र घटनाको विषयमा अनुसन्धान इलाका प्रहरी कार्यालय धुलाबारीबाट हुने प्रहरीले जनाएको छ । पछिल्लो समयमा मेचीनगर १५ स्थित ज्यामिरगढीका विभिन्न नाकाबाट लागुऔषधको कारोबार फस्टाएपछि झापा प्रहरीले त्यसतर्फ निगरानी बढाएको छ ।