खनाल–नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला
काठमाडौं । नेकपा एमालेको असन्तुष्ट खनाल–नेपाल समूहले पार्टीभित्रको विधि र पद्धतिको लडाइँ रहेका निष्कर्ष निकालेको छ । राष्ट्रिय कार्यकर्ता भेलापछिको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘भेला एमालेबाट छुट्टिन गरेको होइन । त्यसो हो भने त अर्को ब्यानरमा हुन्थ्यो । अर्को पट्टी साथीहरुलाई गए हुन्थ्यो लागेका छ । तर, हामी पार्टी फुटाउन दिदैनौँ ।’
उनले पार्टीभित्रको विधि र पद्धतिको लडाइँमा रहेकाले एमाले नछाड्ने दाबी गरे । ‘उहाँले दिएको निर्देशन पालनमा गरेको भए यहाँ देशभरको कार्यकर्ता कहाँबाट जम्मा हुन्थे र ?’ उनले भने, ‘कारवाही शब्द शब्दकोषमा छ । त्यसैले प्रधानमन्त्रीले प्रयोग गर्नुभयो । शब्द चयनमा प्रधानमन्त्री खप्पिस हुनुहुन्छ ।’
उनले संसदीय दलको बैठकको म्यासेज प्राप्त भएको भए पनि आफूहरु नजाने बताए । ‘बैठकको म्यासेज आएको छ । प्रधानमन्त्री ओलीले ११ बजे बैठक बोलाउनुभएको छ । संसदीय दलको नेतालाई पार्टीको कार्यक्रम यहाँ चलिरहेको सबैलाई जानकारी छ । हामीले उहाँको बैठकमा जान सक्दैन भनेका छौँ’, उनले भने, ‘संसदीय दलमा हाम्रो गुनासो छैन । अब हाम्रो अनुकूल समयमा बोलाएको खण्डमा जान्छौँ ।’ उनले पार्टी एकताको आधार भनेको २०७२ जेठ २ नै भएको दाबी गरे ।
‘सर्वोच्चको अदालतको निर्णयपछि पार्टी एकतापूर्वको संगठनमा प्रधानमन्त्री फर्किनुभयो भने पार्टीलाई एकता रहन्छ । उहाँले मान्नुभएन भने के गर्ने भन्ने विषयमा हामीले छलफल गछौँ’, योगेशले भने, ‘२०७५ जेठ २ को निर्णय नै पार्टी एकताको आधार हो ।’ उनले प्रधानमन्त्री ओलीले चैत ७ गतेको लागि बोलाएको केन्द्रीय कमिटीको बैठक आधिकारिक नभएको बताए । ‘उहाँले आफ्नो निर्णय फिर्ता लिनुभयो भने साझा बैठक हुन्छ । ७ गतेको बैठक आधिकारिक होइन । आफ्नो निर्णय फिर्ता भएन भने त्यो उहाँको गुटको बैठक हुन्छ ।’ उनले भने । उनले आधिकारिक पार्टीको कार्यक्रम आफूहरुले चलाइरहेको हुनाले ओलीले नै समानान्तर कमिटी चलाएको तर्क गरे । उनले कर्णाली प्रदेशमा एमाले र माओवादी सरकार रहेको बताउँदै समर्थन कायम भएको बताए ।