चलचित्र भाइ भाइको छायाङ्कन सुरु

बिर्तामोड १ चैत्र । राजबंशी र नेपाली दुबै भाषामा बनाइने चलचित्र भाइ भाइको सुटिङ सुरु भएको छ । झापा, इलाम, पोखरा र जोमसोममा सुटिङ हुने भाइ भाइको निर्देशन गजेन्द्र राजबंशीले गर्ने भएका छन् । भाइहरुबीचको कथालाई सिनेमामा प्रस्तुत गरिएको निर्देशक राजबंशीले बताए । सिनेमाको निर्माता झापा विर्तामोडका पूर्ण राजबंशी रहेका छन् । उनका अनुसार यसमा १२ लाख रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । सिनेमाको सोमवारदेखि लगातार सुटिङ हुने र महिना दिनभित्र सकिने अनुमान गरिएको छ ।

चलचित्रमा मुख्य कलाकारको रुपमा यस अघिनै चलचित्रमा अभिनय गरिसकेका चर्चित कलाकारहरुको सहभागिता रहनेछ । पूर्ण राजवंशी, हंशनारायण राजवंशी, मोहन राजबंशी, कौशला राजबंशी र प्रतिभा राजवंशीको अभिनय रहनेछ । छायाङ्कन विन्जु मिडिया कर्नरका सञ्चालक तथा पत्रकार बिजय बरालले गर्ने भएका छन् । सुटिङमा ड्रोन लगायत अत्याधुनिक प्रविधिको प्रयोग गरिने भएको छ ।