हाक्पारे प्रतियोगिताका विजेतालाई पुरस्कार
दमक १ चैत । प्रथम विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता २०७७ का विजेताले नगद पुरस्कार तथा प्रशंसा–पत्र पाएका छन् । याक्थुङ् हाक्पारे साम्लो सजुमले दमकमा एक कार्यक्रम गरि विजेतालाई पुरस्कार वितरण गर्नुका साथै साँगीतिक कार्यक्रम गरिएको थियो । २४० भन्दा धेरै प्रतियोगि सहभागी भएको उक्त प्रतियोगितामा प्रथम अमरजंग केदेम, द्धितीय गरिमाया लिम्बु र तृतीय मुक्ति इधिङगो भएका थिए । विजेताहरुलाई क्रमश स् ५५ हजार, ३० हजार र २० हजारसहित प्रशंसा–पत्र प्रदान गरिएको थियो । साथै विभिन्न उप–शीर्षकमा विजेता हुने १० जनालाई प्रसंशा–पत्रले सम्मान गरिएको थियो । प्रतियोगिताका निर्णायकहरुमा कलाकार यासेली योङहाङ, लोकप्रिय गायिका झुमा लिम्बु र कवि मधु केरुङ रहेका थिए ।
प्रदेश १ का पूर्व आर्थिक मामिला मन्त्री इन्द्र बहादुर आङबोले विजेताहरुलाई पुरस्कार वितरण गरि शुभकामना दिएका थिए । सजुमका अध्यक्ष इक्साहाङ चेम्जोङको सभापतित्व सम्पन्न उक्त कार्यक्रममा किरात याक्थुङ चुम्लुङका प्रदेश १ अध्यक्ष धुर्व मेन्याङ्बो, साहित्यिक तथा राजनीति र सामाजिक व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा अन्तराष्ट्रिय लिम्बु टिकटक प्रतियोगिताका संयोजक मौसम लिम्बु, अन्तराष्ट्रिय पालामका प्रथम विजेता सुनिता केदेम लाबुङ लगायतलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा प्रतियोगीहरुले हाक्पारे साम्लो प्रस्तुत गरेका थिए ।