झापा लागू औषधको हव बन्दै
भद्रपुर २५ फागुन । पछिल्लो समयमा झापाका सीमावर्ती नेपाली बजारमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरको अवैध कारोबार फस्टाएको छ । सीमा क्षेत्रका बजारमा लागुऔषध ट्याब्लेट, सिरप, गाँजाको अत्यधिक कारोबार हुँदै आएकोमा लकडाउनपछि ब्राउन सुगर (खैरो हिरोइन) को कारोबार ह्वातै फस्टाएको हो । जिल्लामा ब्राउन सुगरको कारोबार फस्टाएसँगै झापा प्रहरी यसको जालो तोड्ने मिसनमा जुटेका छन् । प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले लागुऔषध मुक्त जिल्ला बनाउने अभियानमा सक्रियता देखाएसँगै झापा प्रहरी र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले दिनहुँ ब्राउन सुगर प्रयोगकर्ता र गिरोहमा आबद्ध व्यक्तिलाई पक्राउ गर्न थालेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्क हेर्दा गत आर्थिक बर्ष २०७६।७७ भन्दा चालु आर्थिक वर्ष २०७७।७८ को माघ मसान्त सम्म लागुऔषध कारोबार गर्ने घटना बढेको देखिन्छ । अघिल्लो आर्थिक वर्ष २०७६।७७ मा ११ महिला र १८० जना पुरुष लागु औषधसहित पक्राउ परेका थिए । चालु आर्थिक वर्षको माघ मसान्तसम्म ६ महिला र १६६ जना पुरुष पक्राउ परिसकेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
चालु आर्थिक वर्षको ७ महिनामै १७२ जना पक्राउ परिसकेको छ । अघिल्लो एक वर्षमा १९१ जना पक्राउ परेका थिए फागुन महिनाको तथ्याङ्क जोड्ने हो भने १८० जना नाघिसकेको प्रहरीले जनाएको छ । प्रहरीले अघिल्लो आर्थिक वर्षमा १ किलो ५९५ ग्राम ५०५ मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो भने, चालु आर्थिक वर्षको माघ सम्ममा १ किलो ५२६ ग्राम ३६३ मिलिग्राम ब्राउन सुगर बरामद गरिसकेको डिएसपी थापाले बताए । बरामद गरिएको ब्राउन सुगरको नेपाली बजार मूल्य ९० लाख बढी पर्छ ।
उनका अनुसार लागुऔषध डाईजापाम, लुपिजेसिक, फेनारगन, नाइट्रोजन, गाँजा, सिरप पनि बरामद भइरहेको छ । तर, अन्य लागुऔषधको तुलनामा ब्राउन सुगर बढी बरामद भएको डिएसपी थापाले बताए । अन्य लागुऔषध प्रयोग गर्दागर्दै बढी मात्रामा नशालु पदार्थ चाहिने भएकाले पनि ब्राउनसुगरतर्फ युवावर्ग बढी लागेको अनुसन्धानले देखाएको उनले बताए । ‘लागुऔषध नियन्त्रण तथा रोकथाममा प्रहरीले सक्रियता बढाएकोले लागु औषधमा संलग्न व्यक्तिहरू धमाधम पक्राउ पर्ने थालेको हो, त्यसैले आरोपीको सङ्ख्या बढ्दै गएको हो,’ उनले भने, ‘ब्राउन सुगर बोक्न पनि सजिलो, भारतबाट ल्याउन पनि समस्या नहुने र फाइदा पनि बढी भएकोले यसको कारोबार बढेको अनुमान गर्न सक्छौँ ।’