प्रधानमन्त्री केपि ओलीद्वारा क्यान्सर अस्पताल र गौरव भिलेजको उद्घाटन
भद्रपुर १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षअघि सञ्चालनमा आएकोे, बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै पर्यटन मन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, सहरी विकास मन्त्री प्रभु साह, संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, पूर्वमन्त्री महेश बस्नेतसहित राष्ट्रिय कलाकारहरुको उपस्थिति थियो । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पताल परिसरमै पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा रहेको छ ।
करिब ६ सय करोड रुपैयाँको लागतमा निर्माण गरिएको क्यान्सर अस्पतालको क्षमता तीन सय शय्याको भए पनि हाल एक सय शय्या सञ्चालनमा रहेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले जानकारी दिए । तीन सय शय्याको स्वीकृति पाएको सो अस्पतालमा क्यान्सर उपचारका लागि आवश्यक रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत सम्पूर्ण सेवा उपलब्ध रहेको छ । गत वर्षदेखि नै उपचार सेवा सञ्चालनमा ल्याएको सो अस्पतालले एक वर्षका अवधिमा २६ हजारभन्दा बढीका बिरामीलाई ओपिडी सेवा प्रदान गरिसकेको प्रसाईंले बताए ।
यस्तै आजै प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिर्तामोडमा निर्माण गरिएको प्रदेश गौरव भिलेजको पनि उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका, ह्याविट्याट नेपाल र सहारा नेपालको साझेदारीमा निर्माण गरिएका ३७ वटा आवासलाई प्रधानमन्त्री ओली मङ्गलवार एक समारोहका बिच उद्घाटन गर्दै हस्तान्तरण गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले छिटो छिटो सरकार विकासको काममा जुटेका बताए ।
आवास नभएका जनताका लागि सरकार यस्तै नमुना बस्ती बनाएर हस्तान्तरण गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ुफुस र खरका छानाहरू विस्थापित गरी टिनको छाना लगाउने योजनामा सरकार छ, त्यसका लागि सरकारले बजेट निकासी गर्छ, त्यसका लागि स्थानीय सरकारले समन्वय गर्नु पर्यो ।ु
हर्चना टुनटुनवारी नमुना आवास निर्माण उपभोक्ता समितिले २०७६ पुस देखि २०७७ मङ्सिर महिनाभित्र ३७ वटा आवास निर्माण गरेको निर्माण समितिका अध्यक्ष युवराज गौतमले जानकारी दिए । बिर्तामोड नगरपालिका ८ स्थित पुरानो बाटो र अरूको जग्गामा आश्रय लिएर बसेका ३७ परिवारका लागि शौचालयसहित बनेको प्रति घरमा चार लाख रुपैयाँ लागत लागेको जनाइएको छ । जम्मा एक करोड ४० लाख लागतमा निर्माण भएको घरमा बिर्तामोड नगरपालिकाले ७० लाख र ह्याविट्याट नेपालको ७० लाख आर्थिक सहयोगलाई सहारा नेपालले परिचालन गरेको थियो ।
विपन्नको आवास निर्माणका लागि भद्रपुर ८ निवासी धनजुजु श्रेष्ठ, राधादेवी श्रेष्ठ र कमला देवी श्रेष्ठले करिब १ विगहा ३ कट्ठा जमिन निःशुल्क प्रदान गरेका हुन् ।