पाँच वटा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट स्थापना

मेचीनगर । झापामा एकै पटक पाँच वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएको छ । सीमा क्षेत्रको शान्ति सुरक्षा मजबुत बनाउने उद्देश्यले बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएको हो । योसँगै जिल्लामा सशस्त्र प्रहरीको बिओपीको सङ्ख्या १७ पुगेको छ ।

मेचीनगर नगरपालिका— ५ स्थित नकलबन्दामा, सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टको उद्घाटन, सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी पकलीका वाहिनीपति डिआइजी वंशीराज दाहाल, मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य, उपमेयर मिना पोखरेल उप्रेती र झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा डिआइजी दाहालले मेचीनगर नगरपालिका(१ स्थित तिरीङ, भद्रपुर नगरपालिका(३ स्थित महेशपुर, झापा गाउँपालिकाको पन्थापाडा र गौरीगञ्जको आमगाछीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टको उद्घाटन भएको घोषणा समेत गरेका थिए । प्रत्येक बिओपीमा प्रहरी निरीक्षक वा प्रहरी नायव निरीक्षकको कमान्डमा २५ जना सुरक्षाकर्मी खटाइने बताए । यसअघि झापाको बाहुनडाँगी, काँकडभिट्टा, ज्यामिरगढी, पाठामारी, केचना, भागडुब्बा, टाघनडुब्बा, गौरीगञ्ज, घेरावारि, कुञ्जीवारि, भद्रपुर र पृथ्वीनगर गरी १२ वटा बिओपी स्थापना भइसकेको छ ।