भद्रपुरमा बोर्डर आउट पोस्ट स्थापना गरियो

भद्रपुर, १८ माघ । शस्त्र प्रहरी सीमा सुरक्षा बलको १२ औं बोर्डर आउट पोस्टका रूपमा भद्रपुर भन्सार सुरक्षा पोष्ट स्थापना गरिएको छ ।

भद्रपुर ५ स्थित मेची किनारमा रहेको सार्वजनिक मलामी विश्राम भवनलाई सशस्त्र प्रहरीले सदुपयोग गर्ने गरी त्यही भवनमा बोर्डर आउट पोस्टको स्थापना गरिएको हो ।

अस्थायी रूपमा स्थापना गरिएको बिओपीको एक कार्यक्रमका बीच सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीका डिआइजी वंशीराज दाहाल र झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सेनाले सम्युक्त उद्घाटन गरेका हुन ।

झापामा पाठामारी, ज्यामिरगढी र भद्रपुर गरी यस वर्ष तीन वटा नयाँ बिओपी स्थापना भइसकेको डिआइजी दाहालले बताए । उनका अनुसार हाल देशभर ११४ वटा बिओपी रहेको छ । सरकारको सीमा सुरक्षा योजना बमोजिम यस आर्थिक वर्षमा थप ११४ वटा बिओपी स्थापना गरी २२१ वटा पु¥याउने लक्ष्य रहेको बताए । डिआइजी दाहालले भने, ‘प्रदेश नम्बर एकमा ५० वटा बिओपी पु¥याउने लक्ष्य छ ।’ हाल सम्म प्रदेश एकमा ४२ वटा बिओपी स्थापना भइसकेका छन्, भने ८ वटा बिओपी स्थापना गर्ने क्रममा रहेको उनले बताए । बाँकी सबै बिओपी झापामा स्थापना गरिने उनको भनाई छ ।

त्यस्तै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले १४४ दशमलव २ किलोमिटर जिल्लाको खुल्ला सीमाबाट हुने आपराधिक क्रियाकलाप, अतिक्रमण, चोरी निकासी जस्ता कार्य रोक्न स्थापना गरिएको बिओपीले सीमा सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

त्यस्तै जिल्लामा सशस्त्र प्रहरीले बाहुनडाँगी, काँकडभिट्टा, पृथ्वीनगर, केचना, घेरावारि, भागडुब्बा, कुञ्जीवारि, गौरीगञ्ज, टाघनडुब्बा, पाठामारी, ज्यामिरगढी र भद्रपुरमा बिओपी स्थापना गरिसकेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए । तिरिङ, नकलबन्दा, सतीघट्टा, महेशपुर, पन्थ पाडा र गौरदाहको आँपगाछीमा बिओपी स्थापनाका लागि प्रक्रिया अघि बढिसकेको उनले बताए ।

भद्रपुर स्थापना गरिएको अस्थायी बिओपीलाई स्थायित्व दिनलाई मेची पुल पारी भद्रपुर नगरपालिका कार्यालयले एक विगहा जमिन दिने निर्णय गरिसकेको र त्यसको प्रक्रिया सुरु भइसकेको बिओपी भद्रपुरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक विभुराज दाहालले जानकारी दिए । बिओपी स्थापना भएसँगै भद्रपुर भन्सार तथा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी गणबाटै आउनु पर्ने बाध्यता समेत टरेको उनको भनाई छ ।