पशुपतिमा शिवलिङ्गको जलहरि सुनको बनाउने

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको बनाउने भएको छ । पशुपतिनाथ मूल मन्दिर अघिको बसाहा र छानामा पनि सुनको जलप लगाइने कोषका सदस्य सचिव डा। प्रदीप ढकालले जानकारी दिए । यसका लागि १४२ किलोग्राम सुन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । जलहरिका लागिमात्र १०८ केजी सुन लाग्ने अनुमान गरिएको पनि उनले बताए ।

सुनको जलहरि र जलप लगाएका बसाहा एवं छाना ३०० वर्षसम्म परिवर्तन गर्नु नपर्ने कोषले जनाएको छ । कम्तीमा सात पुस्तासम्म पुग्ने गरी दिगो काम गर्न लागिएको जनाइएको छ । कानूनी एवं धार्मिक विधि पु¥याएर यो काम गर्ने कोषको तयारी छ । सुनको जलहरि र जलपका लागि टेन्डर प्रक्रिया शुरु भइसकेको छ ।

प्यागौडा शैलीको पशुपतिनाथको छाना र बसाहामा यसअघि पनि सुनको जलप लगाइएको थियो । विसं २०१६ अघि नै लगाइएको जलप खुइलिन थालेपछि फेरि लेपन गर्न लागिएको हो । चाँदीको जलहरि भने त्यसअघि नै राखिएको जनाइएको छ । गत सोमबार पशुपतिनाथ मन्दिरमा विशेष पूजा एवं सवालाख दीप प्रज्वलन गर्न पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलप लगाउन कोषलाई रु ३० करोड बजेट विनियोजन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई निर्देशन दिएका थिए ।

कोषको संरक्षक प्रधानमन्त्री र सञ्चालक परिषद्को अध्यक्ष संस्कृति मन्त्री रहने कानून व्यवस्था छ ।