अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ८० वृद्धवृद्धा सम्मान
भद्रपुर । ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर झापाको भद्रपुर नगरपालिकाभित्रका असल स्याहारकर्तासहित ८० जना बृद्धबृद्धालाई सम्मान गरिएको छ ।
भद्रपुर नगरपालिकाको आर्थिक सहयोग तथा ज्येष्ठ नागरिक सङ्घ भद्रपुर नगर समितिको आयोजनामा चन्द्रगढीमा सम्पन्न कार्यक्रममा नगरपालिकाभित्रका १० वटा वडाबाट प्रतिवडाका ६ जना ज्येष्ठ र २ जना असल स्याहारकर्ताका दरले सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख जीवनकुमार श्रेष्ठ, समिति अध्यक्ष हेमप्रसाद खनाल ,सचिव शङ्कर गौतमलगायतले भद्रपुर १० निवासी १ सय ४ बर्षिया बृद्धा महँगा राजवंशीसहित ६० वर्ष माथिका बृद्धहरुलाई नगद ,दौरा सुरुवाल टोपी तथा बृद्धाहरुलाई साडी चोलोसहित खाद्य सामग्री प्रदान गरेर सम्मान गरिएको थियो ।
त्यसै गरी असल स्याहारकर्ता २० जना छोरीबुहारीहरुलाई नगद ,दोसल्लासहित प्रशंसा पत्र प्रदान गरेर सम्मान गरिएको थियो । सङ्घका द्वितीय उपाध्यक्ष धनपति सिवाकोटीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै ज्येष्ठ नागरिकका हक अधिकारका बारेमा भएको कानुनी व्यवस्थाका बारेमा जानकारी दिएका थिए । खनालको अध्यक्षता तथा सचिव गौतमको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ,समाजसेवी दुर्गाप्रसाद भट्टराई, वडा नं ७ का वडा अध्यक्ष विनोद पोखरेल , हरि वलीलगायतले मन्तव्य राख्दै ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए ।
सो अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाले जेष्ठहरुलाई रोग प्रतिरोधात्मक औषधी यष्ठिमधु ,अमला ,अश्वगन्धा चूर्णलगायतका ४ प्रकारका १ सय ५ पोका औषधी प्रदान गरेको थियो । कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष परमानन्द मिश्रले गरेका थिए । त्यस्तै विभिन्न सामाजिक गतिविधि गर्दै आइरहेको भद्रपुरस्थित चन्द्रगढी समाजसेवाले एक जना वृद्धलाई सम्मान गरेको छ ।
समाजको नजिकिँदै गरेको दोस्रो वार्षिक उत्सवको अवसरमा भद्रपुर ८ स्थित ८६ वर्षीय दुर्गाप्रसाद दाहाललाई दोसल्ला ओढाउनुका साथै खाद्य सामग्रीसहित कम्वोडवाला कुर्सी प्रदान गरेर सम्मान गरिएको हो ।
समाजका अध्यक्ष कमलप्रसाद अधिकारी, सचिव देवीमाया अधिकारी ,उपाध्यक्ष नयाँ नाथ पाण्डेसहितको टोलीले उनको घरमै पुगेर सम्मान गरेको थियो । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष अधिकारीले संस्थाका अहिलेसम्मका गतिविधिका बारेमा प्रकाश पार्दै जेष्ठहरुको सम्मान गर्नु संस्थाको मुख्य योजना रहेको बताए ।
कार्यक्रममा कनक श्री टोल विकास संस्थाका अध्यक्ष कृष्ण कटुवाल, सम्मानित बृद्धाका छोरा लक्ष्मी दाहाल, सञ्चारकर्मी रेवतीराज घिमिरे ,समाजका आजीवन सदस्य राममणि पोखरेललगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव देवीमाया अधिकारीले गरेकी थिइन्न् ।